काठमाडौँ।ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।
ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए ।
खेलको सूरुमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा रोकियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
शेहान ५२ बलमा ५० रन बनाएर आउट भए ।
मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे ० रनमा आउट भए । शौरभ नेत्रभाल्कर ० रनमा अविजित रहे । बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एकएक विकेट लिए ।
आजको खेलमा नेपाली बलरहरु अमेरिकी खेलाडीमाथि हावी देखिए ।