काठमाडौँ। नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा गरिँदै आएको मासिक कथावाचन कार्यक्रमको तीसौं श्रृङ्खला बैशाख २५ गते सम्पन्न भयो।
सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिए अनुसार सर्वप्रथम कथाकार हृदयचन्द्र सिंह प्रधानको कथा ‘सौता’ ऐतिहासिक साहित्यिक पत्रिका शारदा मासिकको वर्ष १३ सङ्ख्या ९ (२००४ )पौषको अङ्कबाट डा. पबित्रा अधिकारीले वाचन गरिन । त्यसपछि अन्य तीन जना प्रतिष्ठित कथाकारहरूले २०७० को दशकका बिभिन्न वर्षमा प्रकाशित आ(आफ्ना कथाहरू वाचन गरे।
कथाकार रमेश जङ्ग थापाले २०७९ असोज २९ को गोरखापत्रमा प्रकाशित ‘हाम्रा बा हुन्नन्’ शीर्षकको कथा, कथाकार प्रमोद प्याकुरेलले साहित्यिक मासिक ‘आलेख‘ को २०७७ असारको अङ्कमा प्रकाशित कथा ‘छ्याक लोह’ र कथाकार इन्दिरा प्रसाईले २०७१ को युवामञ्चमा प्रकाशित भई पछि आफ्नै कथासङ्ग्रह ‘मेरो कथा नलेखिदिनू’ (२०७४)मा सङ्गृहीत ‘श्री’ शीर्षकको कथा वाचन गरिन ।
कार्यक्रमको शुरुमा परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने पवित्र उद्दृेश्यले दुई जनाको परिकल्पनामा शुरु गरिएको यो अभियान आज कथाकारहरू र कथाका गम्भीर पाठकहरूबीच लोकप्रिय हुँदै गएकोमा प्रसन्नता व्यक्त गरे । यसमा प्रतिष्ठित कथाकारहरू र भरखर कथा प्रकाशन गर्न थालेका नयाँ पुस्ताका प्रतिभावान स्रष्टाहरूलाई पनि मौका दिने गरिएको कुरा स्मरण गराए ।
आज तीसौं श्रृङ्खलासम्म आइपुग्दा बिभिन्न प्रयोग गरिएको कुरा उल्लेख गर्दै उनले कहिले विश्वविद्यालयका प्राध्यापक, कहिले प्रसिद्ध समालोचकहरू आमन्त्रण गरी वाचन गरिएका कथाको समीक्षा गर्ने काम भयो ।गत महिनादेखि कथाका प्रबुद्ध पाठकहरू र कथाकारहरूका बीचमा अन्तरक्रिया गर्ने गरिएको कुरा उल्लेख गरे।
आज स्रष्टाहरूसँगको अन्तरक्रियामा कथाकार र कथानुरागीहरू शैलेन्द्र साकार, हरिबोल आचार्य, निर्मला ढुंगाना, जेठा बैरागीलगायतले भाग लिए ।
अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले धन्यवाद ज्ञापन गर्दै आजका कथाहरूको सङ्क्षिप्त चर्चा गरे । उनले दिवंगत स्रष्टा हृदयचन्द्र सिंह प्रधानको कथाले असी वर्षअघिको नेपाली समाजको यथार्थ चित्रण गरेको कुरा बताए । त्यस्तै ‘हाम्रा बा हुन्नन्’ कथाले कर्णाली प्रदेशको जनजीवन बोलेको र ‘छ्याक लोह’ले नेपाल एकीकरणको बेलामा कीर्तिपुरको एउटा घटनाको स्मरण गराएको उल्लेख गरे ।
अर्को कथा ‘श्री’ ले विज्ञानको नौलो आविष्कारको विषयवस्तुलाई रोचक ढङ्गबाट प्रस्तुत गरेको हुनाले स्रोताहरूले फरकफरक स्वादका कथा सुन्न पाएको चर्चा गरे ।
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।

