काठमाडौँ। नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘अराजक जमातको गठजोड’ भनेर टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै बादलले रास्वपाको वैचारिक आधार र राजनीतिक चरित्रमाथि प्रश्न गरेका हुन्। रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको उनको भनाइ थियो।
‘रास्वपा कुनै सुसज्जित विचारधारमा आधारित दल होइन। यो आकस्मिक अप्रत्याशित रुपमा उत्पन्न भएको अति महत्वकाँक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो,’ बादलले भने, ‘यो दार्शनिक रुपमा सारसंग्रवाद र राजनीतिक रुपमा लोकप्रियतावादको दलदले जगमा अडिएको हो।’
उनले रास्वपालाई अवसरवादी प्रवृतिका व्यक्तिको दलका रुपमा टिप्पणी गरे। ‘यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो। यो रुपमा अत्यन्त प्रिय देखिन्छ तर सार परिणाममा अत्यन्तै घातक हुन्छ। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो,’ उनले भने।