कविता
देवकी तिमल्सिना
बग्नु
बग्नु भनेको
किनाराले तोकिएको बाटो मात्र होइन
आफ्नै छालमा बग्दै जानु पनि हो।
आज समय पत्थरझैँ कठोर छ
हामीमाथि थुप्रिएका ऋण
पाएको जिम्मेवारी
डर र समाचारहरू……
हरेक बिहान मोबाइलको स्क्रिनबाट
नयाँ आदेश र झटारोहरुमा-झस्किएकाछन् ।
खै कसरी हाँस्ने ?
कसलाई विश्वास गर्ने ?
कहिलेसम्म चुप लाग्ने ?
यद्यपि देख्नु छ
थाकेको शहरभित्र पनि
साना नालाहरू बगिरहेका छन्।
कसैले प्रश्न सोधिरहेको छ
कसैले अस्वीकार गरिरहेको छ
कसैले पुरानो चुनौति तोडेर
नयाँ शब्द सिकिरहेको छ।
बग्नु भनेको भाग्नु होइन
बाटो बिराउनु होइन
बरु बाटो बनाउँदै-बनाउँदै
स्थिरताविरुद्धको विद्रोह गर्नु हो।
नियम, सिमाना र पहिचानहरूबीच
बग्नु नै आजको भाषा हो
चुपचाप तर निरन्तर …
एक दिन
यी स(साना बगाइहरूले
ठूलो दिशा बदल्नेछ
किनकि इतिहास
सधैं
रोकिएकाहरूले होइन
बगिरहेकाहरूले लेखेका छन्।