काठमाडौँ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनाप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
काँग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै उक्त घटनाले संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन गरेको बताएका छन्।
‘राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने सदनको संयुक्त बैठक राष्ट्रिय महत्त्वको औपचारिक, उच्चस्तरीय तथा संवेदनशील कार्यक्रम हो। आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित हुन नचाहनु र अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रिय सन्देश दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले उक्त कार्यक्रममा प्रधानमन्त्री बालेन शाहको पोसाकलाई लिएर संसदभित्र टिप्पणी भएको विषय पनि उल्लेख गरेको छ। राष्ट्रिय पोसाक कानुनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्त्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको विज्ञप्तिमा उल्लेख छ।
‘लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता हुनु स्वाभाविक हो। तर राज्यका विभिन्न अंगहरूबीचको पारस्परिक सम्मान,संसदीय संस्कार र संवैधानिक मर्यादाप्रतिको अटल प्रतिबद्धता भने सधैं साझा राष्ट्रिय मूल्यको रूपमा ग्रहण गर्न सक्नुपर्छ,’ काँग्रेसले भनेको छ।
काँग्रेसले अगाडि भनेको छ, ‘तसर्थ, संसदीय इतिहास र स्थापित परम्पराको दृष्टिकोणबाट आज प्रदर्शित व्यवहारलाई संसदीय मर्यादा अनुकूल मान्न सकिँदैन। यस्ता अमर्यादित तथा अशोभनीय व्यवहार प्रति हाम्रो गम्भीर असहमति छ’ ।