काठमाडौँ। अग्रज कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को लोकार्पण भएको छ ।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उक्त कृति प्रा.डा.महादेव अवस्थी,प्रा.डा.रामप्रसाद ज्ञवाली,डा.गोपी मैनाली,प्रा.डा. देवि नेपाल,प्रा.पुरुषोत्तम दाहाल,युवराज मैनाली,हरिभक्त सिग्देल,महाकाव्यकार कलानिधि दाहाल लगायतले लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.महादेव अवस्थीले देवकोटाका बारेमा धेरै कुराहरु उजागर गरेर महाकाव्य आएको बताए । उनले अझै देवकोटाका विभिन्न पाटाहरु भने समेटिन बाँकी रहेको बताए ।
मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै प्रा.डा.नेपालले महाकाव्यमा चेतन प्रवाह भएको भन्दै देवकोटालाई साक्षी राखेर लेखेको जस्तो भान परेको बताए । उनले भने, “कवित्व मापन गर्ने यो कृति विशिष्ट ।कृतिमा बिचबिचमा आउँछन् देवकोटा। मुनामदन,लुनी,शाकुन्तल,प्रमिथस जस्ता देवकोटाका कृतिहरुमा कवि छिर्नु भएको छ । दार्शनिक गहिराईले भरिएको छ कृति। अनुपुष्ट छन्द पनि स्वतन्त्र देखिएको कृतिले देवकोटाको पुर्नजन्म गराएको छ ।”
प्रा.डा.ज्ञवालीले जीवन चेतना,सौन्दर्य चेतना र कलाचेतनाको त्रिवेणीको रुपमा कृति आएको बताए । उनले भने,”अरुलाई जित्ने भोकबाट टाढा भएर कविले आफैंलाई जित्ने प्रयास गर्न खोज्नु राम्रो लागेको छ ।”
रचना गर्भको बारेमा काव्यकार दाहालले आफ्नो धारणा राखे ।
कार्यक्रममा डा.गोपी मैनाली,पुरुषोत्तम दाहाल,युवराज मैनाली,हरि गौतम लगायतले आआफ्नो मन्तव्य राखे । उनीहरुले मन्तव्यको क्रममा कविसंगका सम्बन्धका विविध आयाम समेतको चर्चा गरे ।
सुशिला शर्मा,कल्पना काफ्ले लगायतले कृतिका केही श्लोकहरु वाचन गरे ।
अग्रज कवि हरिभक्त सिग्देलको सभापतित्वमा कार्यक्रम भएको थियो ।
ओरिएन्टल पब्लिकेशनले उक्त कृतिलाई प्रकाशनमा ल्याएको हो ।