
काठमाडौँ । आजदेखि ललितपुरमा बुङम लोकेश्वर (रातो मच्छिन्द्रनाथ)को रथयात्रा सुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन बुङम लोकेश्वर (रातो मच्छिन्द्रनाथ)को रथलाई दिउँसो पुल्चोकबाट तानेर गाबहालमा पुर्याइनेछ । यसभन्दा अघि बुङम लोकेश्वरको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ ।
त्यसपछि मीननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्याइएपछि मात्र बुङम लोकेश्वरको रथलाई मीननाथको रथको पछि लगाएर पुल्चोकबाट तानिनेछ । आज मात्र मीननाथको रथलाई अघि लगाएर तानिनेछ । भोलिदेखि मीननाथको रथलाई मच्छिन्द्रनाथको रथको पछि लगाएर तानिने चलन छ ।आज गाबहालका बासिन्दाहरुले छवयालाभू मनाइरहेका छन् भने अहिले बुङम लोकेश्वरको दर्शनका लागि पुल्चोकमा भक्तजनको घुइँचो लागेको छ । आज रथ तानिने भएकोले लोकेश्वर को रथमा हरियो धूपी लगायतले सिँगारपटार गर्ने काम हुनेछ ।
रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलमा घुमाउने प्रचलन रहेको छ । रथ तान्नुअघि र गन्तव्यमा पुगेपछि गुरुज्यूको पल्टनबाट सलामी दिने चलन छ । मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै लोकेश्वर लाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

