
मुक्तकहरु
रुद्र अधिकारी
१.
तरबार भन्दा धारिलो वचन किन बनायौ?
नछोइकनै दुखाउन सक्ने मन किन बनायौ ?
तन, मन, जीवन आफ्नो हो तर हे भगवान,
अरूबाटै नियन्त्रण हुने बटन किन बनायौ ?
२.
विश्वासले घातीसँग साइनो जोड्ने रहेछ ।
स्वार्थीका ती पाइला स्वार्थले नै मोड्ने रहेछ ।
उमेर जति भए नि जति हन्डर खाए नि,
जिन्दगीले चाहिँ सिकाउन नछोड्ने रहेछ ।
३.
यता फल दिने बिरुवा छानेर गोड्ने गर्छौ ।
स्वार्थ अनुरुप कुरो र कुलो नि मोड्ने गर्छौ ।
साथ लान पाउने कुरालाई बेवास्ता गर्छौ,
लान नपाइने कुराहरू चाहिँ जोड्ने गर्छौ ।
४.
आँखामा बस्न खोज्नेहरू झर्न जन्मेका हुन्छन् ।
प्रेम चाहने आफ्नै खुसी हर्न जन्मेका हुन्छन् ।
मान्छेका सबै चाहना पूरा हुँदैनन् त्यसैले,
कोही अरुको इच्छा पुरा गर्न जन्मेका हुन्छन् ।
५.
खोलाको सही ठाउँ हेरेर मात्रै तर्नुपर्छ ।
परिस्थिति हेरी कैले पछि पनि सर्नुपर्छ ।
समय र शब्द दुवै फर्केर आउँदैनन्,
त्यसैले यसको सही प्रयोग गर्नुपर्छ ।


