कविता
नयाँ वर्ष
रमेश श्रेष्ठ
सपना भएर आउनू
सम्पूर्ण संभावना भएर आउनू
नयाँ वर्ष तिमी
जीवनको रातो रङले
आँखा भरि–भरि
हिमालको सिउँदो सजाएर आउनू,
गाउँमा अँध्यारोझैं
रोग फैलिइरहेको छ
बेलैमा विचार नपुगे
गाउँ रित्तिन के बेर / गाउँ सकिन के बेर
प्रतीक्षाको यो निर्मम घडीमा
पूर्णिमाको जूनको टीकाजस्तै
औषधी भएर आउनू,
बस्तीमा बनमाराझैं
अनिकाल मौलाइरहेको छ
पसिना नपोखे
बस्ती डढ्न के बेर / बस्ती उड्न के बेर
पौरखको मूल ब्यूँझाएर
खेतमा सुन झरेको धानको बालाजस्तै
सहकाल भएर आउनू,
सहरमा बेरोजगारी आतङ्कझैं बढिरहेको छ
माटो भने पनि
देशको बाटो भने पनि
यिनै तरुणहरू हुन्
सिमाना र सपना जोगाउने
गीतहरू गाउन सक्ने
सभ्यता गुञ्जने निर्माण र
समूह उठ्ने रोजगार भएर आउनू,
एउटा कुरा त भन्नै छुटेछ
ज्यादै दुःखी छिन् आमा
दुःखको व्याकरणको तलाउमा
सन्तानको सपना डुब्लाकी भनेर
निद बिथोलिएको छ चिन्ताले
मीठो निद र सपना भएर आउनू
अबेर होला है
समयलाई अँध्यारोले निल्ला है
नयाँ वर्ष तिमी
नयाँ हुनुको गर्भको महिमा गाएरै आउनू
आँखा भरि–भरि
हिमालको सिउँदो सजाएर
देश नहार्ने दिन जन्माएर आउनू ।