
काठमाडौँ। अमेरिका र इरानबीच आज वार्ता हुँदैछ।
पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो।
वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ।
इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ।
उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकी प्रतिनिधिमण्डल भने अझै इस्लामावाद आइपुगेको छैन। उनीहरू बाटोमै रहेको रोयटर्सले जनाएको छ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुने अनुमान छ।
टोलीमा को(को छन् भन्ने अझै खुलेको छैन। इस्लामावाद प्रस्थान गर्नअघि उपराष्ट्रपति भान्सले परिणाम सकारात्मक आउने अपेक्षा व्यक्त गरेका छन्।
‘तर यदि उनीहरूले हामीलाई छल्ने प्रयास गरे भने वार्ता टोली त्यति सहज हुने छैन,’ उनले भनेका थिए।
इरानतर्फबाट भने वार्ताअघि नै कडा सर्तहरू अघि सारिएका छन्। सभामुख गालिबाफले अमेरिकाले पहिले गरेको इरानी सम्पत्ति फुकुवा गर्ने र लेबननमा युद्धविराम सुनिश्चित गर्ने प्रतिबद्धता कार्यान्वयन नभएसम्म औपचारिक वार्ता सुरु नहुने बताएका छन्।
युद्धविराममा लेबनन पनि समेटिनुपर्ने इरानको माग छ। अमेरिका र इसराइलले भने लेबनन युद्धविराममा नसमेटिएको बताउँदै आएका छन्।
वार्तामा युद्धको मुख्य पक्ष इसराइल भने सहभागी छैन।



