
समीक्षा
भागीरथी श्रेष्ठ
एउटा रसिलो र हँसमुख व्यक्तित्व हरिशकल्पित!
नारी मैत्री स्वभावका सरल व्यक्तित्वका धनी हरिश कल्पित !
मिठो बोली मिजासिलो व्यवहार गर्ने हरिश कल्पित !
‘ ग्याब्रियले ‘ कथा संग्रहका कथाकार हरिश कल्पित !
टिकटकमा अभिनय गर्न पनि सिपालु हरिश कल्पित।
तर सबैभन्दा ठूलो विशेषता उनको कथा लेख्ने क्षमता हो भन्ने मान्छु म। कथा लेख्ने उनको प्रतिभा ग्याब्रियले कथा संग्रह र उनको भर्खर निस्केको कथा ‘कोहीनुर’ पढेपछि मैले महसुस गरे।
सरल मिठो शैलीमा यथार्थवादी सामाजिक कथा लेख्ने क्षमता क्षमता भएका हरिश कल्पित।
मलाई लाग्छ जति कथा लेखनमा उनको ऊर्जा लगानी हुनुपर्थ्यो त्यो उनको ऊर्जा कतै छरिएको पाएँ।
उनका कथाहरूले नेपाली संस्कृति समाज नेपाली मनको स्वभाव मात्र होइन विदेशी भूमिका नारीहरू र पुरुषहरूको चरित्र त्यहाँको संस्कृतिलाई आफ्ना कथाहरूमा उजागर गरेका छन्।
नेपाली सामाजिक कथाहरूमा कटु मार्मिकताले हाम्रो मन लाई छुन्छ भने विदेशी भूमिकी नारी पात्रको अथवा विदेशी श्रीमतीको संवेदनहिनताको पराकाष्ठाले पनि हाम्रो मनलाई बिथोलिदिन्छ।
जीवनको यो सुखदुःख आशा भरोसा विश्वासले भरिएको पात्रमा जीवनको कुन मोडमा आफ्नै मान्छेहरूबाट चोट खाएर पछारिन्छन्। त्यो भोग्ने मान्छेको मनोदशा कस्तो विरक्तिएको हुँदो रहेछ भन्ने कथा पनि यो संग्रहमा समावेश छ।
‘मोहभङ्ग’ कथा पनि मार्मिक पारिवारिक कथा हो। यो कथामा आफ्नै मान्छेबाट पाएको कल्पनातीत चोटको शिकार हुन्छिन्, भाउजु पात्र।
‘बिहे’ शीर्षकको कथामा अमेरिकाबाट पढेर आएका केटाले माग्ने बित्तिकै अन्धधुन्ध केटाबारे केही नबुझी दङ्ग परेर बिहे गर्दा केटालाई एड्स लागेको थाहा पाएर पश्चाताप र वेदनाको पोखरीमा डुबुल्की मार्नुपर्ने माइतीतिरको र केटीको स्थिति को चित्रण छ। हाम्रा समाजमा घटीरहने यस्ता घटनाहरूलाई कथाकारले कथा टिपेर कथा बुन्न सफल भएको देखिन्छ। यो कथाबाट समाजलाई सचेत हुन सन्देश दिन्छ। हरेक कुरा गहिरेर बुझेर मात्र काम गर्नुपर्छ अथवा बिहेबारी गर्दा सबै कुरा बुझेर मात्र गर्नुपर्छ भन्ने सन्देश छ।
‘मोहजाल’ कथामा अमेरिका गएका छोरा कमाइ गरेपछि बाबुआमाको माया कर्तव्य बिर्सेर , कामको बाध्यता देखाई समयमा बाबुआमालाई भेट्न आउँदैनन्। आफूलाई तोड परेपछि बल्ल छोराको चेतना खुल्छ। तर ढिलो भइसकेको हुन्छ।
विदेश गएर पैसा कमाएर सम्पन्न भएपछि आफ्नो बाबुआमालाई समय नदिनु, भेट्न नआउनु, बाआमाले बोलाउँदा पनि कार्यव्यस्तता देखाउनु छोराछोरीको कृतघ्नता हो । हरेक छोराछोरीले केही समय बाबुआमाको लागि दिनुपर्छ भन्ने लाग्छ। तर समय सस्तो निर्मम भएको छ कि ‘आमाबुवाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि ‘ यो वाक्य ध्रुव सत्य छ।
कथा संग्रहको शीर्ष कथा ‘ ग्याब्रियले’ कथा पनि राम्रो कथा हो। विदेशी श्रीमतीको मनोविज्ञान, आफ्नै थलोप्रतिको प्रेम, माया गर्ने लोग्नेलाई पनि आफ्नो भूमिको मायाले छोड्न सक्नु, छोड्नको लागि नचाहिने आरोप लगाएर पीडित श्रीमानलाई घरको न घाटको बनाएर पीडित गर्नु। डिभोर्स गर्नु विदेशी भूमिको संस्कृतिको नाङ्गो चित्रन हो।
समग्रमा भन्नुपर्दा हरिशकल्पित भाइको लेखन शैली लयात्मक गयात्मक छ। पढेपछि कौतुलता जाग्छ।
विषयवस्तु पुरानै भएपनि कथाहरूमा न्याय गरेका छन्। परिवेश वातावरण र चित्रण पनि जीवन्त छ। नारीको चरित्र चित्रण गर्न पनि खप्पिस रहेछन् उनी ।
मनभित्रका पीडाहरू रेसारेसा केलाउन पनि सक्षम रहेछन् उनी। उनको व्यक्तित्व सरल भएझै कथा लेखन पनि उत्तिकै सरल बोधगम्य रहेका छन्।
कथाकार हरिश कल्पितले सानोतिनो कुरामा नअल्झी आफूलाई कथाक्षेत्रमै प्रतिबद्ध भएर कथा लेख्नुभयो भने ,अहिलेको समयको तस्बिर खिच्न सक्नुभयो भने यी भन्दा राम्रा कथाहरू समय सुहाउँदो भविष्यमा अवश्य प्रकाशित हुनेछन् भन्ने विश्वास छ।
हरिश कल्पित भाइलाई धेरै धेरै बधाई तथा शुभकामना छ।
महाराजगञ्ज

