काठमाडौं । काठमाडौंमा परम्परागत रूपमा मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) जात्राको तयारी धमाधम भइरहेको छ ।
यस वर्षको जात्रालाई लक्षित गर्दै रथ निर्माण कार्य तीनधारा पाठशाला अगाडि भइरहेको छ । जहाँ बिहानदेखि बेलुकासम्म मानिसहरु निरन्तर खटिरहेका छन ।हरेक वर्ष चैत शुक्लअष्टमीमा आयोजना गरिने यस जात्राको लागि आवश्यक पर्ने परम्परागत रथ निर्माण कार्य अहिले अन्तिम चरणतर्फ उन्मुख छ ।जात्राको मुख्य आकर्षणका रूपमा रहने अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ)को मूर्तिलाई केलटोलस्थित कनकचैत्य महाबिहार बाट विधिपूर्वक बाहिर ल्याइन्छ । त्यसपछि केलटोल, इन्द्रचोक, बाङ्गेमुढा, असन, कमलाक्षी हुँदै तीनधारा पाठशालामा ल्याएर रथमा विराजमान गराइन्छ । काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई कनकचैत्य महाबिहारमा रहेको अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) को दर्शन गराउन लागि रथलाई नगर परिक्रमा गराउने चलन छ ।जात्राको पहिलो दिन रथ जमलबाट असनसम्म तानिन्छ भने दोस्रो दिन असनदेखि हनुमानढोकासम्म पु¥याइन्छ । तेस्रो दिन भने रथलाई लगनसम्म लगिने प्रचलन रहेको छ । यसरी विभिन्न टोल हुँदै अघि बढ्ने रथयात्राले काठमाडौंको पूरानो बस्ती क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक उत्साहले भरिपूर्ण बनाउने गरेको छ ।
पूर्णमान महर्जनका अनुसार यो एउटा प्राविधिक काम मात्र नभई गहिरो धार्मिक आस्थासँग जोडिएको सेवा हो । विगत ३७ वर्षदेखि रथ निर्माणमा संलग्न महर्जन आफूले सानैदेखि यो काम गर्दै आएको र अहिले पनि उत्तिकै समर्पणका साथ लागेको बताए ।
उनका अनुसार पहिलेको समयमा रथ निर्माणको स्वरूप र शैली केही फरक थियो भने अहिले परम्परालाई जोगाउँदै आधुनिक आवश्यकताअनुसार केही परिवर्तन गरिएको छ ।
यस वर्ष रथ निर्माणको जिम्मेवारी पूर्णमान महर्जनले सम्हालेका छन् । उनले यो सीप आफ्नो बुवाबाट सिकेको उल्लेख गर्दै भगवानको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने बताए । ‘अरु काम होस् वा नहोस्, भगवानको काम भने गर्नैपर्छ भन्ने भावना छ,’ उनले भने,‘यसमा थकानभन्दा पनि आनन्द बढी महसुस हुन्छ ।’
रथ निर्माणमा प्रयोग हुने सामग्रीहरू पनि परम्परागत नै छन् । विशेषगरी काठ र सुक्खा बेत प्रयोग गरिन्छ ।बेतलाई पानीमा भिजाएर मजबुत डोरी बनाइन्छ, जसले रथलाई बाँध्न र संरचना मजबुत बनाउन सहयोग गर्छ । यी सबै कामहरू अत्यन्तै सीप र अनुभवका आधारमा गरिन्छन्, जसले परम्परागत ज्ञानको निरन्तरता पनि सुनिश्चित गर्छ ।
स्थानीयवासीहरू पनि यस कार्यमा सक्रिय रूपमा सहभागी भइरहेका छन् । धेरैले आस्था र श्रद्धाका साथ श्रमदान तथा सहयोग गर्दै आएका छन् । यसले जात्रालाई केवल धार्मिक कार्यक्रम मात्र नभई सामुदायिक एकताको प्रतीकका रूपमा पनि स्थापित गरेको छ । रथ निर्माण कार्यमा गुठी संस्थानको सहयोग रहेको छ । जसले यस्ता परम्परागत धार्मिक गतिविधिहरूलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
जात्रा यस
वर्ष चैत शुक्लअष्टमी चैत १२ गतेदेखि सुरु हुने जनाइएको छ । नेपालमा मनाइने विविध जात्रा तथा पर्वहरूमध्ये अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) जात्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्व बोकेको पर्व हो ।
यसरी एकातिर धार्मिक आस्थालाई बलियो बनाउने काम गर्छ भने अर्कोतर्फ पूराना परम्परा, सीप र सामुदायिक सहकार्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको