काठमाडौं । आज अपरान्हदेखि काठमाडौंमा पानी पर्न थालेको छ ।
काठमाडौं सहित देशका अधिकाँस भागमा दिउसो पौने चार बजेदेखि वर्षा शूरु भएको हो ।
बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर मेघगर्जनसहित असिनापानी परिरहेको छ ।
रूपन्देहीको बुटवल क्षेत्रमा शुक्रबार दिउँसै एकाएक अँध्यारो छाएको छ।
दिउँसो करिब २ बजेतिर मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो दृश्य देखिएको थियो अहिले हावाहुरी केही कम भएको छ।
चितवनमा हुरीका कारण केराखेतीमा क्षति पुगेको छ ।
बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ। शुक्रबार दिउँसो केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ।
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानामा हुरीबताससहित असिना पानीका परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रूपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले मौसमी सूचनालाई बेवास्ता गर्दा नेपालमा प्राकृतिक विपदबाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिए ।