
प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अशोक ब्याञ्जुले काभ्रेलाई संघीय राजधानी काठमाडौंको वैकल्पिक शहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
जनताको चाहना अनुसार नीति निर्माण र विकास निर्माणलाई सँगै लैजाने उनको भनाई छ । यथास्थितीमा परिवर्तन, शुसासन, पुनर्निर्माण, भौतिक पुर्वाधारको विकास, मानविय आवश्यकता, सामाजिक विकासमा प्राथमिकता दिँदै कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, स्वास्थ्य, शिक्षा,रोजगारी, सम्पदा संरक्षण र दीगो विकासका लक्ष्यहरुलाई केन्द्रमा राखेर काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
काभ्रे कृषिको ठूलो सम्भावना भएको क्षेत्र भएकाले उत्पादन र उत्पादन चक्रलाई व्यवस्थित गर्ने विषयमा विशेष ध्यान दिने उनले बताए । रोजगारी सिर्जना गर्दै आर्थिक रुपान्तरणमा जोड दिने उनको योजना छ । पछाडी परेको क्षेत्र, वर्गमा नपुगेको नीति, कार्यक्रम र बजेट पुर्याउने व्याञ्जुको प्रतिवद्धता छ ।
काभ्रे– २ मा एमालेले जित्ने आधार के छ भन्ने प्रश्नमा उम्मेदवार व्याञ्जुले २०४८ सालदेखिको इतिहासलाई हेर्दा यो क्षेत्र नेकपा एमालेको सबैभन्दा बलियो क्षेत्रको रुपमा रहेको बताए । एमालेको विजय समृद्ध काभ्रेको आधार बनेकाले पनि एमाले विजयी हुने उनको विश्वास छ । एमालेको बलियो जग र जनताको विश्वास नै जितको आधार भएको उनले बताए ।
समृद्ध काभ्रे जिल्ला बनाउने उदेश्यमा समथ दिन उनको आग्रह छ । युवा, नयाँपुस्ता, ज्येष्ठ नागरिक, महिला, गाउँ–शाहर, युवा–वृद्धको साझेदारीका विकास निर्माण र नीति निर्माणको अभियान सुरु गर्ने ब्याञ्जुले बताएका छन् ।
दुई कार्यकाल धुलिखेल नगरपालिकाको सफल नेतृत्व गरिसकेका व्याञ्जुले विगतको अनुभव, मतदाताको सुझाव सहित नीति निर्माण र विकास निर्माणलाई सँगै लैजाने प्रतिवद्धता जनाएका छन् । घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले जनताको भावना, विकास निर्माणका चाहना र सल्लाह सुझाव बारे छलफल गरिरहेका छन् । घरदैलो अभियानमा पुग्दा आम मतदातामा उत्साह देखिएको ब्याञ्जुले बताएका छन् ।

