काठमाडौं।हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
हाल कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशका हिमाली भूभागमा साधरणतया तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई भूभागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो रहने पूर्वानुमान छ।
आज राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया, मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ।

