
काठमाडौं। पाकिस्तानले आईसीसी पुरुष टी– २० विश्वकपमा सुखद सुरुवात गरेको छ ।
पाकिस्तानले शनिबार श्रीलंकाको कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लब मैदानमा सम्पन्न उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध ३ विकेटको जित निकाल्यो ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानका लागि साहिबजादा फरहानले ४७, फहिलम असरफले अविजित २९, सइम अयुबले २४, बाबर आजमले १५ र कप्तान सलमान अघाले १४ रन बनाए ।
असरफले १९ औँ ओभरमा ३ छक्का र १ चौकासहित २४ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि पउल भान मिकरेन र आयर्न दत्तले २–२ तथा लोगन भान बिक, काइल क्लेन र रोलोफ भान डेर मार्भेले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वाडर्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, केलिन एन्करम्यानले २० र आर्यन दत्तले १३ रन बनाए ।
पाकिस्तानका लागि सलमान मिर्जाले ३, सइम अयुव, अब्रार अहमद, मोहम्मद नवाजले २–२ तथा शहिन शाह अफ्रिदीले १ विकेट लिए ।