
चर्चामा पुस्तक
अपूर्वा
रुबि सत्यालको यो उपन्यास जापानीज हानाको छोरी मूख्य पात्र वरिपरि घुमेको छ ।
जापानीज सोच,संस्कार र संस्कृतिको भरपूर जानकारी पात्र मार्फत गराउन उपन्यास सफल छ ।जापानीज र नेपाली मध्यम वर्गिय परिवारको सम्बन्धको कथा जस्तो लाग्छ उपन्यास । उपन्यासमा सकारात्मक भावलाई उजागर गरिएको छ । आशावादी चेत देखाइएको छ । घरदेखि राम्रो हुँदै गए,समाज र देश नै राम्रो हुन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न उपन्यास सफल देखिएको छ । यतिमात्र कहाँ हो र बुद्ध धर्मको महत्वा र त्यो दर्शनको बारेमा समेत सकारात्मक भाव राखिएको कृति सरल, कोमल, मनले लेखिएको उपन्यास पढ्ने जो कोहिले अनुमान गर्न सक्छ ।
श्रमसंस्कृतिले राष्ट्र सम्बृद्ध बन्न सक्ने कुरालाई पनि यहाँ औल्याईएको छ ।
सरल भाषाशैली,सुलोलित वगेको कथाले उपन्यास पाठकलाई सहज र रुचिकर लाग्छ ।
अपूर्वाको प्रकाशन भुँडीपुराणले गरेको हो । यसको मूल्य रु.६००। रहेको छ ।
पुर्पुरो
पार्वती तिवारी आचार्यको जिन्दगीका उतारचढाव सहितका भोगाइका अनेकानेक पलहरुलाई कथानक विषयवस्तु बनाएर उनैले लेखेको उपन्यास हो । उनका सुखदुखका विभिन्न पाटाहरुको जानकारी यस कृतिले दिएको छ ।
झट्ट हेर्दा सफलताको कथा लाग्ने आख्यानले जीवनका अनेक अवयवहरुलाई प्रस्तुत गरेको छ । भोगाइको सत्यापन गरेको कथाले जीवनको महत्व वोध गराउन उत्प्रेरणाको काम गरेको छ । नेपाली समाजको विद्रुप यथार्थ चरित्रको उद्घाटन पनि उपन्यासको अर्को पक्ष रहेर आएको छ । आफ्ना पीडा र संघर्षमय दुखद पलहरुलाई इमान्दार भएर यहाँ प्रस्तुत गरिएको छ ।
कृतिले हाम्रा यावत समस्याहरु,तिनले व्यक्तिको जिन्दगीमा पार्ने नकारात्मक असरहरु,वर्गिय समाजको स्वरुप,जातीय र लैंगिक विभेद जस्ता विषयहरु उठान गरेको छ। यसले नयाँ पुस्ताको लागि प्रेरणापुञ्जको रुपमा काम गर्नसक्छ ।
क्लिष्टता भन्दा पर सरल भाषाशैली,विम्बविधानको सरल प्रयोगले उपन्यास बनेको छ ।
उपन्यासकार स्वयंले प्रकाशित गरेको पुपुरोको मूल्य रु.५००। रहेको छ।
निर्बन्ध- निलय
प्रा.कपिल अज्ञातको निबन्ध कृति । विचार र भावले घनिभूत, विषयगत विविधताले भरिएका ४५ थान निबन्धहरु कृतिभित्र समेटिएका छन् । यी निबन्धहरु निजात्मक सन्दर्भ,विधागत सन्दर्भ,व्यक्तित्व समीक्षा सन्दर्भ,दृष्टि सन्दर्भमा विभाजित छन् ।
अनैतिकतामाथि खरो प्रहार,बौद्धिक खुराकले भरिएका,नैतिक मूल्य र मान्यताले ओजिला र सन्देशप्रद निबन्धहरु कृतिभित्र पाइन्छ । संस्कार र संस्कृतिका पक्षधर निबन्धकारले समाजलाई सही दिशाबोध गर्न जिम्मेवार भूमिका निभाएका छन् । भावनाको प्रचुरता,अनुभवले खारिएका,विचारले बलिया,ज्ञानले भरिएका निबन्धहरु यसमा छन् । निबन्धहरु सरल लाग्छन् । विम्बात्मक उस्तै ।
निर्बन्ध -निलयलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.४९०। रहेको छ ।




