
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चारमाध्यममा गएर नपोख्न निर्देशन दिएका छन् ।
शुक्रबार पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओली सो निर्देशन दिएका हुन् ।
ओलीले भने, “असन्तुष्टि नेतृत्वसमक्ष मौखिक वा लिखत रूपमा पेस गर्नू ।”
नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताए ।
“११औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । यसलाई हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी गर्छु । पार्टीभित्र देखिएको समस्या आगामी दिनमा प्रकट नहुन् भन्ने कामना गर्छु,” उनले भने, “हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीतिअनुसार हामी अगाडि बढ्नेछौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ ।”
देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै ओलीले त्यो अप्ठेरोबाट देशलाई सहज बाटोमा ल्याउने काम एमालेले गर्ने बताए ।




