जनकपूर।नेपाल बार एसोसिएसनको मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीले जेनजी आन्दोलनपछिको उत्पन्न परिस्थिति, निजी सम्पत्तिसहित मानवअधिकारको रक्षा, आन्दोलनका क्रममा र आन्दोलनपछि आएको अराजकताले भएको क्षतिको निष्पक्ष छानबिन गरी पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न सबैको ध्यान आकर्षण गरेको छ ।

यसैगरी नेपाल बारको जनकपूरमा सम्पन्न राष्ट्रिय गोष्ठीले ‘न्यायपालिकाअन्तर्गतका विभिन्न अड्डा अदालत, राष्ट्रिय महत्त्वका भौतिक संरचना तथा सम्पति तथा थुप्रै व्यक्तिगत एवम् सामाजिक अभियन्ताका रूपमा रहेका कानुन व्यवसायीको निजी सम्पत्ति, ल फर्म र निजी व्यावसायिक प्रतिष्ठानका संरचना तथा सम्पति नष्ट भएका छन् ।’ भनिएको छ ।

जनकपुर घोषणापत्रमा भनिएको छ -‘यसबाट राज्य र नागरिकलाई ठूलो क्षति भएको छ भने व्यक्तिगत रूपमा व्यक्तिको विभिन्न मौलिक एवम् आर्थिक हकको हरण भएको छ ।’
भदौ २३ र २४ गते हुन पुगेको मानवअधिकार उल्लंघन तथा जनधनको क्षति सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरी पर्याप्त क्षतिपूर्ति दिलाउनका लागि गोष्ठीले नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।

राष्ट्रिय गोष्ठीले लोकतन्त्र र मानवअधिकारको मेरुदण्ड नै वैयक्तिक अधिकार भएको भन्दै भदौ २३ र २४ मा भएका व्यक्तिलक्षित आक्रमण र सम्पत्ति नष्ट गर्ने कामको भर्त्सना गरेको छ ।
साथै, नेताहरूलाई स्थान तोक्ने सहितका निर्णयहरू मानवअधिकारविरुद्ध भएको भन्दै नेपाल बारले खेदसमेत ब्यक्त गरेको छ ।

विचार र राजनीतिक आस्थाका आधारमा व्यक्तिलाई बन्दी बनाउने कार्यप्रति राज्यको ध्यानकर्षण पनि जारी घोषणापत्रले गरेको छ ।
आमाको नाममा नागरिकता प्राप्तीमा अहिले पनि नागरिकले झंझट बेहोर्नु परेकोप्रति पनि चासो राखिएको छ । खाद्य सम्प्रभुताको अधिकार,अपांगहरुको विषय, श्रम अधिकार लगायतका सवालहरुमा पनि चासो र चिन्ता प्रकट गर्दै गोष्ठीले सरोकारवालाहरुको ध्यानकर्षण गराएको छ ।