
काठमाडौँ, मंसीर १७ — बुद्धको जीवनोपयोगी शिक्षाको सारका रूपमा चिनिने ‘चार आर्यसत्य’ विषयमा विशेष प्रवचन सत्र यही मंसीर १९ गते शुक्रवार (डिसेम्बर ५) स्वयम्भूस्थित बोधि गृहमा संचालन हुँदैछ।
‘चार आर्यसत्य: एक अन्तरयात्रा’ शीर्षकको उक्त कार्यक्रममा मानिसको मनमा हुने असन्तुष्टि, त्यसबाट सिर्जित समस्या र समाधानका मार्गहरू बारे बौद्ध दृष्टिकोण प्रस्तुत गरिने आयोजक बुद्ध प्रकाश फाउन्डेसनका अरुण पौडेलले बताए।
यस सत्रमा बुद्धको शिक्षाले कसरी हाम्रो दैनन्दिन जीवन, मनोवैज्ञानिक अवस्था र असन्तुष्टिको चक्रलाई बुझ्न मद्दत गर्छ भन्ने विषयमा चर्चा गरिने आयोजकले जनाएको छ।
यस महत्त्वपूर्ण सत्रमा आचार्य हिसी डोल्माले प्रवचन दिनुहुनेछ। विख्यात बौद्ध गुरु छोक्नी रिन्पोछेकी विद्यार्थी तथा तिब्बती भाषा र बौद्ध दर्शन विज्ञ आचार्य हिसी डोल्मा चोभार, काठमाडौँस्थित ‘छोक्नी गेछाक् लिङ्’ मा अध्यापन गर्नुहुन्छ। यो सत्र नेपाली भाषामा सञ्चालन हुनेछ। बुद्धका कालातीत शिक्षाहरूले हामी किन सधैँ असन्तुष्ट हुन्छौँ र त्यसबाट मुक्त हुने बाटो के हो भनी बुझ्न आफ्नो अनुभवमाथि गहिरिएर हेर्न प्रेरित गर्दछन्। बुद्ध धर्मको मूलभूत शिक्षालाई सरल भाषामा बुझ्न इच्छुक सबैका लागि यो कार्यक्रम उपयोगी हुने आयोजक संस्थाको भनाइ छ।

