
काठमाडौं ।अर्थमन्त्री रामेश्वर खनालले राजश्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री खनालले अमेरिकालगायतका मुलुकहरुको दृष्टान्त दिँदै राजश्वसम्बन्धी केही समस्या भए त्यसलाई समाधान गर्न सोहीसम्बन्धी विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे।
उनले वर्तमान सरकारसँग काम गर्ने समय करिब साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यसबीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुनेसमेत बताए।
उनले भने- ‘राजश्व अनुसन्धान विभाग अथवा त्यस्तो किसिमको निकाय चाहिँदैन। किनभने जब हामी विश्वास निर्माणमा आधारित प्रणाली निर्माण गर्छौं भने त्यस्तो अरु निकाय आवश्यक हुँदैन।’