
जनकपूर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् ।
शनिबार मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेशसभामा छलफलका क्रममा नेकपा ९माओवादी केन्द्र०का सांसद रहबर अन्सारी र माला कर्णले सोनललाई विश्वासको मत दिन नसक्ने बताएका थिए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्न खोज्दा मुख्यमन्त्री सोनलसँगै मन्त्रीहरू बैठककक्षबाट बाहिरिएका थिए ।
सरकारको प्रतिनिधि नभएको भन्दै प्रदेशसभा सदस्यले नियमापत्ति गरेपछि बैठक केही समयका निम्ति स्थगन गरिएको थियो ।
शनिबार नै बसेको मधेस प्रदेशसभाको दोस्रो बैठकमा उपस्थित भएका मुख्यमन्त्री सोनलले सभामुखले हतारमा विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेको भन्दै आपत्ति जनाए ।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी)सहित पाँच राजनीतिक दलका ५६ प्रदेशसभा सदस्यको समर्थनमा सोनल गएको असोज २६ गते मधेस प्रदेशको मुख्यमन्त्री बनेका थिए ।
आफूलाई समर्थन गरेकै दलका केही प्रदेशसभा सदस्यले विश्वासको मत नदिने भएपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।


