
काठमाडौं।नेकपा (एकीकृत समाजवादी)पार्टी विभाजन हुने निश्चित भएको छ।
नेकपा (माओवादी केन्द्र) लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट भएपछि एकीकृत समाजवादी औपचारिक रूपमा विभाजन हुने भएको हो।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितको एउटा पंक्ति पार्टी पुनर्गठन र सांगठानिक सुदृढीकरण नगरी अरू दलसँग एकता गर्न नहुने पक्षमा थिए।
यद्यपि केन्द्रीय समितिबाट बहुमतबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन हुने भएको हो।
सम्मानीत नेता झलनाथ खनाल समूहले शनिबार छुट्टै भेला बोलाएको छ। भेला दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्ने तय भएको छ।
भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल सहित सय बढी केन्द्रीय उपस्थित हुने दाबी झलनाथ पक्षले गरेका छन्।


