
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेकाहरूलाई घर फर्कन अपिल गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सबैले काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरेका छन् ।
‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं,’ ओलीको आह्वान छ, ‘देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं ।’ओलीले भनेका छन्।उनले विगतमा एमाले निर्माण गर्न र बलियो बनाउने यात्रामा सँगै हिँडेका सबै नेता–कार्यकर्तालाई हृदयदेखि नै आह्वान गर्न चाहेको बताएका छन् ।
उनले भने,-‘यो घर बनाउन तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेल यातना भोगे, कसैले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे।’
ओलीले लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको र राष्ट्रिय अस्तित्वमाथि खतरा उत्पन्न भएको बेला एमाले मौन रहन नसक्ने बताएका छन्।
उनले सबै कार्यकर्तालाई कोही पनि अलमलमा नपरी निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न आग्रह गरेका छन्।
अन्तिममा उनले भनेका छन्- ‘समृद्ध नेपाल, सुखी नेपाली हाम्रो साझा लक्ष्य हो।’