
निबन्ध
सम्झनाको क्यानभासमा बयली खेल्छ मन
प्रदीप सापकोटा
यथेष्ट प्रश्नहरुले मनलाई घेरिहन्छ । किन शान्त र भद्र मनलाई प्रश्नहरुले घेरिहन्छन् होला । जीवनमा घुमेका अनगिन्ती घुम्तिहरुबारे मनलाई जति कसलाई थाहा होला र । सत्य थाहा छ मनलाई र त इमान्दार छ मन । सत्य नै बोल्छ । मनले सरल र सुक्ष्मताको भावमा हेर्छ । उकुसमुकुुसहरु भित्र गुम्सिरहन्छ सधैंभरी मन । कतिपय बेला मन एकतमास टोलाउँछ । शुन्यतामा झन टोलाउँछ । पीडाका थुप्रै चपरीहरुको थुप्रो बोक्दा मनलाई कति कठीन होला? यावत भोगाइका खातहरु होलान र त मन सबै सबै घट्नाहरुको साक्षी बस्न बाध्य छ । आफू बाँचेको यो समय र समाजको सबै सबै राम्रा नराम्रा कुराहरुको साक्षी मन सबै सबै कुरा नियाल्छ । आफ्नै विवेक छ मनको । यायावर जस्तै मनका आँखा डुल्छन् यताउता । सबै सबै कुराको साक्षी मन कहिल्यै कसैसँग प्रतिवाद नगरुँ भन्छ ।
सम्झनाका क्यानभासभित्र जकेडिएको छु म । मेरा मनका गराहरु भरी सजल यादगर पलहरु झुलिरहेछन् । जसरी समथर फाँटभरी झुल्छन् धानका बाला लहलह । मेरो सानो मनमस्तिष्कले त्यतातिरको यात्रा गराइरहेछ मलाई । जतिखेर अभावका कारण जीवन असहज थियो । खेल्ने कुरा चिप्लेटी र चुँगी थियो । सबै सबै स्मृतिका इन्द्रेणी रंगहरुले पोतिएका छन् । ती यादगर पलहरु जतिबेला पौडी खेल्ने बहानामा दह(खेतका लागि बाँधिएका बाँध)हरुमा डुबुल्की मार्थें म । अहिले त्यसैगरी डुबुल्की मार्दैछ मेरो मन यादका गहिरा दहहरुमा । ती बाल्यकालका यादहरुले त्यतैतिर त्यसैगरी फर्किन पाए हुन्थ्यो जस्तो भान गराउँछ । त्यो हामी बीचको आत्मियता,मनैदेखि झुल्केको विहानीको झुल्केघाम जस्तो न्यानो र सुन्दर विश्वास । ती मनदेखि उर्लिएको आफ्नोपनको खहरे । आहा । फेरी त्यहीं पुग्न पाए । त्यो लप्सी टिपेर संकलन गरेर दुई चार पैसा बनाएको अनि पनौती पुगेर किनेको तोतामैनाको कथा,बालकोसेली । ती अहिले पनि मसँग सुरक्षित छन् । सुम्सुम्याउँछ मनले तिनलाई ।
वयली खेल्छ मन अहिले पनि त्यतै फर्केर जतातिर विते मेरा बाल्यकाल । परालका खेतमा लगाइएका कुन्यूहरुमा घुगुत्ति खेलेको पल । आहा ! कति मीठो वासना पठुवाको । तातो वाफ पनि उस्तै मीठास बनेर हाम्रो नाकमा सुगन्ध छथ्र्यो । लक्ष्य के हो ? गन्तव्य कता ? केही पर्वाह गरिएन् । उतिवेला स्कूल गयो,आयो कितावको झोला फलैंचामा फ्याँक्यो । दगुर्यो मकै भटमास गोजीमा राखेर । बस खेल सुरु । पानीढुँगे उतिबेलाको मनपर्ने खेल । कहाँ फूटबल होस,क्रिकेट त अझै परको कुरा । थोत्राथाम्रा कपडा फाटेको मोजमा कोच्यो बल बनि हाल्थ्यो । आहा कति रमाइलो बाबै । अहिले त के कुरा गर्नु । आजकालका केटाकेटी पुस्तालाई सुनायो भने हाँसेर उडाउँछन् भन्या ।
तातो आलुको मज्जा आजकलका केटाकेटीलाई के थाहा । भकुण्डो कोर्टमा कहाँ खेल्न पाउँनु ।शारीरिक शिक्षा पढाउने सरले तातो आलु खेलाउँथे । अहिले त यस्ता खेल हराए नि –जसरी हराएका छन् हाम्रा मौलिक संस्कार र संस्कृति । जसरी विलाएका छन् – हाम्रा चालचलन र दैनिकी । सब कुरा भग्नावशेषमा परिणत भयो–जसरी भुइँचालोले भौतिक संरचनालाई खण्डहर पारेर तहसनहस पार्छ । सबका सब सकिए हजुर हाम्रा मौलिकता । म उतै फर्के । उतिबेरकै यादका दहहरुमा पटक पटक डुब्दै उत्रँदै पौडिन थाल्दाको मज्जै बेग्लै । सरहरु भनेपछि हामी कति डराउँथ्यौं । केही बिगार पो गरें कि । कतै कहीं चुँके कि । डरले घर गथ्र्यो मनमा । मुटु नै हल्लिन्थ्यो केही विराउँदा । आज शिक्षकले के सजायँ दिने हुन् भनेर । आज त शिक्षकलाई कसले टेर्दियोस । किन डराउँनु मेरो बाउले नोटको विटो बुझाएको छ यहाँ । उसको तलब नै मेरो बाउले दिने हो –यस्तै सोच्दा हुन आजका बच्चा ।
हेर्नुस त कति फरक छ उतिबेला र अहिले । उफ् कस्तो उजाड लाग्दो समयसँगै गुज्रँदैछन् हाम्रा बच्चा पुस्ता । रसीलो छैन् भन्या सुख्खायाम जस्तो अहिले त । मन उदास बन्छ यी कुराहरुमा । आजको पुस्ता त एकान्तमा रमाउँछ । मोवाइल र ल्यावटपमा समय कटाउँछ । साथीसंगीको अर्थबोध भए पो । दौतरीको महत्व थाहा भए पो । त्यो बेलाको पानीढुँगे खेलमा कहिले हार कहिले जीत र त्यही हारजीतभित्रको मित्रताको बन्धन कसिलो पो हुन्थ्यो । तँ मा मित्रताको अगाध बलियो डोरी कसिन्थ्यो । अहिले त कहाँ …….धेरै अघि बढीसकेको जमाना यो । लाग्छ आजको पुस्ता हार्दिक पनि छैनन् या बन्न जान्दैनन् अथवा भनुँ चाह छैन् । उसले बुझेको बेहद ज्ञान भनेको नै म हो सिर्फ म । आजकल त म विषवृक्ष पो देख्छु जताततै । भूमिका नबाँधि भनुँ –स्वार्थका विषवृक्ष । कहिल्यै लागेको देख्दिन् म सकारात्मक दृष्टिचेतको घाम । जहिले स्वार्थको वादल मडारिरहेको पाउँछु –वर्तमान जमाना । कसरी बदलिएलान् खै यो एकाँकीपनबाट । कसरी सोच आउला सकारात्मकताको । कसरी मनले लगाउन भन्ला– अरुप्रति सहानुभूतिको मल्हम ।
हामी सायद प्रविधिसँग साक्षात्कार हुने मौका नपाएका मनुवा थियौं उतिबेला । हाम्रो बाल्यकाल कुनै खराव लतभन्दा कोशौं दूर थियो । कसैले चूरोटको सर्कोसम्म तानेको सुन्नमा आउन्नथ्यो । गाँजा त झन परको कुरा । गाँजाका बोटहरु मल्खाद वरिपरि हुन्थे । त्यसको एकप्रकारको गन्ध आउँथ्यो । तर कोही गाँजा तान्दैनथे ।कसैलाई वास्ता हुन्थेन् । त्यसको मतलब हुन्थेन्। एकाध जोगी,कोही बुढापाका कहिलेकाहीं तान्थे । तर त्यसको असर हाम्रो बाल्यकाल मात्र नभएर तन्नेरी वयमा पाइलो टेक्दापनि छायाँसम्म परेको थिएन् । तर अहिले चूरोट,गाँजा त दैनिकी हुन् पो थाल्ला कि भन्ने भय छ । जाँडरक्सीप्रतिको घृणा भाव उस्तै थियो । अहिले त अभ्यस्त भैसके प्रायः। हरे कस्तो समय आयो !
आफुभन्दा अग्रजलाई सम्मान गर्नुपर्छ । हामी बाल्यकालहुँदा यस्तै लाग्थ्यो र व्यवहार पनि हाम्रो त्यस्तै थियो । त्यसतर्फ मन जागृत भएर परिपालना गर्थेउँ हामी । गुरुहरु,मातापिता र अन्य मान्यजनहरुप्रति हाम्रो श्रद्धा र सम्मान हुन्थ्यो । उनीहरुसँग कतै विराइएको पो छ कि भनेर डराउँथ्यौं । उनीहरुपनि हामीप्रति हार्दिक थिए । अहिलेकासँग यो कुरा भन्यो भने अतिरञ्जितपूर्ण कुरा लाग्छ तिनीहरुलाई । मनगढन्ते,बनावटी ठान्छन् । नैतिक शिक्षा थियो उतिबेला । अहिले नैतिक शिक्षा भनेको आइस्यो, गैस्योमा सिमित छ । हामी कसैको बदख्वाइँ गर्दैन्थेउँ । उतिबेला विग्रने भनेको गुच्चा खेल्ने,फलफूल चोर्ने त हो नि । अहिले त विग्रिने ठाउँ गिन्ति गरिसाध्य भए पो ।
हिजोका सन्दर्भ जोडेर अहिले बोल्नु पनि नहुने भैसकेको छ । जमाना कस्तो कस्तो आयो । खै कसरी जोगाउने हो आफ्नालाई ? अनि आफ्नाबाट कसरी जोगिने हो आफु –सम्झँदा मात्र पनि मन गह्रुँगो हुन्छ । जीउ नै थिचे जस्तो लाग्छ । सम्झाउँन पनि गाह्रो छ आजकालाई । झम्टिहाल्छन् । रीस र आवेग उस्तै आजका बच्चामा । माया,करुणा कुन चराको नाउँ हो थाहै नाइँ । कस्तो आवेगको प्रवलता । कति धेरै घुर्की उस्तै । म यसो मनमनै तर्क गर्छु– के अहिलेको समय ल्याउन हामी दोषी छौं कि नाइँ ? सुखको चाहानामा मान्छे कहाँ पुगेको छ आज । हो थाहा छ– जिन्दगीको यात्रा उकालो पनि हुन्छ । ओराली पनि झर्नुपर्छ । दुखकष्ट भनिसाध्य हुन्न् । अभाव भोगीसाध्य हुन्न् । मनमा इच्छा र चाह पनि आउँछन् । रहर पनि जाग्छ मनमा तर आजको नयाँ पुस्ता कता जाँदैछ ? यही कुराले तनाव दिन्छ घरीघरी मनमा । कतिपय बेला भुइँचालोले झै हलचल ल्याउँछ जीवनमा । अबोध बालपनमा नै त्यो बच्चाको हाँसो र हेराइलाई सही ठाउँमा पुर्याउन नसक्दाको परिणाम पो हो कि ?समय नै यस्तै हो ? खै ठम्याउँन पनि कठीन लाग्छ कुनैबेला त । मनै डुवाउँछ कोशीले सोच्दासोच्दै । उफ् कति त्रासदपूर्ण याम हो –वर्तमान ।
सुन्नै चाहाँन्न हिजोको कथाव्यथा आजको पुस्ता । तर मेरो भने नाकैमा झुण्डिन आइपुग्छन् उतिबेलाका याद । गाइको गोठालो लाग्नुपर्दाको मज्जा के थाहा आजकालाई । ऐँसेलु र चुत्रोको सु–स्वाद । थकाइलोको डुकुको मीठास । अनि थकाइलोको जराको बास्ना । त्यसले शरीरलाई दिने शक्ति । गाईहरु पनि तालिमे जस्ता । नाम काटेर गाली गरेपछि कसैको खेतवारीको वालीमा पस्न लागेका भएपनि फरक्क फर्कन्थें । माली,गौरी,तारी यस्तै यस्तै नाम गाईका । गाई चराउने चउर खोलाका दायाँबायाँ कति थिए थिए । अहिले त ती स्मृतिमा मात्र छन् । हडपे सबैले । खोलाको माछा मार्दाका रमाइला पलहरु अहिलेकाले कहाँ महसुस गर्न सक्छन् त ! असला माछा । आहा ! सम्झँदा मात्र पनि मुखमा पानी आउँछ । हाते दुवाली गर्ने र दुवाली थुनेर माछा मार्ने चलन थियो । कैयन छाक तरकारीको रुपमा माछा पाक्थ्यो घरमा । अहिलेकाले त्यो अबसर कहाँबाट पाउँथे । अहिले त भारतबाट ल्याएको गन्हाउने बासी माछा खान परेको छ । त्यो उत्ताल मज्जा आजकाले पाउन त भाग्यमा हुनुपर्यो नि ! विषादीले खोलानालाको पानी प्रदुषित छ । खोलामा माछा बाँच्दैन अहिले । एक्विरियमका माछा हेर्ने हो । खान त उही सीमापारीतिरबाट कैयन दिन लागेर औषधी हालेको माछा । कस्तो भाग्य अहिलेका पुस्ताको !
हेर्न नपरेहुन्थ्यो जस्तो लाग्ने दृष्य हेर्नपरिरहेछ । पानीको मूलबाट सिधै ढुँगेधारमा झरेको कलकल गर्ने चिसो अमृततुल्य पानीले प्यास मेटाएका धेरै पलहरु अझै आँखाबाट ओझेल परेका छैनन् । हिजो खेतमा रोपाइँमा गुञ्जने असारे भाकाको स्थान अहिलेको उपल्तिरको छिमेकबाट आएको गीतले लिइदिएको छ ।माटोको सुगन्ध विषाक्त बनेको छ । हिजोका बडेमान स्थानीय काँक्रा र तरकारीका मगमगाउँदो बास्ना आज कहाँ हरायो खै ? हिजो पैसा थिएन्,अभाव थियो हो पक्कै । तर आत्मसन्तुष्टिको मीठो निदमा सबैले मीठा मीठा सपना देख्थे । आज ? आजको परिवेश रोगको भकारी बनेका छन् बच्चाहरु । ठूलाको त कुरै गर्नुभएन । अचम्म छ ।
कति छिटो आएको समयमा परिवर्तन । हाम्रा दैनिकी र व्यवहारमा उस्तै । मान्छेका मन उस्तै । खानपान र दिनचर्याले होला अनुशासन कुन चराको नाम हो थाहा नभएको । मान्छे स्वार्थका जालोमा रुमुल्लिएको भएर होला उसको मन पनि फलाम भन्दा साह्रो भएको । हिजो र आजमा कति धेरै अन्तर छ– आकाश र धर्तीबिच जस्तो । कस्तो उता बटारिन्छ आजको मान्छेको मन । तालु नै चड्किने गरी ताप दिन्छ टाउकोमा । सुन्दा र भन्दा पनि कस्तो कस्तो भयानकताले आङ सिरिङ्ग पार्छ । खै आजकालको समय नै डरलाग्दो भएर आयो । मान्छेको दिमागमा खिया लागेको हो कि ? मान्छेको अस्तित्वमा संकट आइलागेको । मैले भेउ पाउन सकेको छैन् ।आजका मान्छेको दिमाग सरफपानीले सफा गरेपनि फोहोर नजाला जस्तो पो लाग्छ ।


