
काठमाडौं । नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र चालु आर्थिक वर्षको पहिलो दुई महिनामा उल्लेखनीय रूपमा सुदृढ बनेको देखिएको छ, शोधनान्तर स्थिति, चालु खाता, रेमिट्यान्स आप्रवाह र विदेशी विनिमय सञ्चितिमा आएको तीब्र बृद्धिले मुलुकको भुक्तानी सन्तुलन थप मजबुत बनेको संकेत गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र थप मजबुत बनेको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ मसान्तसम्म शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोड रुपियाँ बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको एक खर्ब एक अर्ब ७७ करोड रुपियाँको तुलनामा उल्लेखनीय बृद्धि हो । चालु खाता समेत एक खर्ब ३० अर्ब ६९ करोड रुपियाँले सकारात्मक अवस्थामा रहनु र रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बृद्धि भई ३५२ अर्ब आठ करोड रुपियाँमा पुग्नुले देशको भुक्तानी सन्तुलन बलियो भएको संकेत गरेको छ । यस अवधिमा विदेशी विनिमय सञ्चिति पनि ७.६ प्रतिशतले बृद्धि भई २८ खर्ब ८१ अर्ब ३५ करोड रुपियाँ पुगेको छ, जुन अमेरिकी डलरमा २० अर्ब ४१ करोड बराबर हो। राष्ट्र बैंकका अनुसार हालको सञ्चिति देशको १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्षम छ, जसले आर्थिक स्थायित्वमा सकारात्मक संकेत दिएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति पनि १३.७ प्रतिशतले बृद्धि भई २९८ अर्ब ९७ करोड रुपियाँ पुगेको छ, र कुल सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । यद्यपि बाह्य क्षेत्रमा उल्लेखनीय सुधार देखिए पनि आन्तरिक अर्थतन्त्र भने अपेक्षितरूपमा सुधार नहुँदा समग्र आर्थिक प्रगतिको गति अझै चुनौतीपूर्ण अवस्थामा रहेको विश्लेषकहरूको भनाइ छ ।
दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स
चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब बढीको रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समिक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब २७ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बृद्धि भई दुई अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।
चालु खाता एक खर्ब ३० अर्बले बचतमा
समीक्षा अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब २० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक अर्ब २० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) दुई अर्ब ७१ करोड रहेको थियो ।
शोधनान्तर स्थिति डेढ खर्बले बचतमा
समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब १० करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब नजिक
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले बृद्धि भई भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले बृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले बृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले बद्धि भई दुई खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।
गत भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता १९.७ महिनालाई पर्याप्त
आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
गत भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् ।
गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा २०८१ भदौ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७३.९६ रहेको कच्चा पेट्रोलियमको मूल्य गत भदौ मसान्तमा ५.८ प्रतिशतले कमी आई अमेरिकी डलर ६९.६९ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा अघिल्लो वर्षको भदौ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २५८४ रहेकोमा २०८२ भदौ मसान्तमा ४३.० प्रतिशतले बृद्धि भई अमेरिकी डलर ३६९५.४० पुगेको छ ।
विनिमय दर
गत असार मसान्तको तुलनामा भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ २.७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रूपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको छ ।
यस्तै गत भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१४०.८४ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर रु.१३७ रहेको थियो ।
उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत
गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तरगत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ ।
तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तरगत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.७७ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ ।
बीमा तथा वित्तीय सेवा उप समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७३ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९ प्रतिशत, मधेश प्रदेशको १.७४ प्रतिशत, बागमती प्रदेशको १.७२ प्रतिशत, गण्डकी प्रदेशको १.४७ प्रतिशत, लुम्बिनी प्रदेशको १.७६ प्रतिशत, कर्णाली प्रदेशको १.८५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.८८ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२१ प्रतिशत, तराईको १.७० प्रतिशत, पहाडको १.६८ प्रतिशत र हिमालको २.५१ प्रतिशत रहेको छ ।
थोक मुद्रास्फीति २.१० प्रतिशत
गत भदौ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति २.७५ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.२१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ०.८३ प्रतिशत र २.३५ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ४.१८ प्रतिशतले बढेको छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति
गत भदौ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । सन् २०२५ सेप्टेम्बर महिनामा भारतमा यस्तो मुद्रास्फीति १.५४ प्रतिशत रहेको छ ।( ईखबरनेट डेस्क)
