सरकारी सेवामा एक वर्ष: संघर्ष, सिकाइ र संकल्प
सुदिप ढुंगाना
लोकतन्त्रले शासनमा जनताको आवाज सुनिश्चित गर्छ भने कर्मचारीतन्त्रले र स्थायी बनाउँछ। यी दुवै परस्पर-पूरक छन् शासनले नीति बनाउँछ र प्रशासनले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्छ। प्रशासक शासकको यस्तो सारथी जसले शासकले जनतासामु बाँडेका सपनालाई ऐन/कानूनको परिधिभित्र रहि पूरा गर्ने संकल्प बोकेको हुन्छ, हो त्यही प्रशासक बन्ने धोकोले जीवनमा संधर्षको मैदानमा उत्रेको म एक। सार्वजनिक सेवामा रहेका तमाम विकृति र विसंगतीको साक्षी नभई यसमा आफ्नो तर्फबाट हरसम्भव सुधार गर्न प्रतिवद्ध एक राष्ट्र सेवक।
स्नातक तहको पढाइ सकाइ सरकारी सेवामा स्थापित हुने प्रयास गरियो।प्राविधिक विषयमा ज्ञान प्राप्त म अप्राविधिक तर्फबाट सेवामा छिर्ने तयारी गर्नु एक उल्टो बाटो हिँड्नु जस्तै थियो। त्यो बाटो असम्भव थिएन तर सहज पनि त थिएन्। जीवनमा १६ वर्ष एक तरिकाले सोचियो, बुझियो अनि पढियो तर मैले पाएको शिक्षालाई व्यवहारमा उतार्न मैले अझै थप उर्जा, उमेर र पुँजी लगानी गर्नु पर्ने थियो। यसको बदलामा मैले एक चुनौतीपूर्ण तर असम्भव नभएको अर्को बाटो रोजें अप्राविधिक अधिकृत। 2080 साल असारमा स्नातक तहको परीक्षाको नतिजा प्राप्त गरिसकेपछि मैले गम्भीर भइ सुरू गरेँ सरकारी सेवामा प्रवेश गर्ने तयारी।
मुलुकमा संघीय शासन प्रभावकारी रुपमा लागू भइसकेपछि मैले एक किसिमको सोच बनाएको थिएँ अबको बाटो सरकारी सेवाको। स्नातकको दोश्रो वर्ष पढ्दै गर्दा केही साथीभाइबाट सरकारी सेवा प्रवेशको बाटो, सवल र दुर्वल पक्षहरु यस्तै यस्तै सिक्ने/बुझ्ने अवसर पाएँ। सोही अवधिमा लोकसेवा कार्यालय धनकुटाबाट फारम भरी एक/दुई पटक प्रथम चरणको परीक्षा त दिइयो तर दोश्रो चरणको परीक्षा संधै स्नातक तहको सेमेस्टर परीक्षासंग जुधेकोले पूरा दत्तचित्त भइ लाग्न सकिएन्।
१६ वर्षको अध्ययनबाट सिकेका विषयमा केहि थपघट गरि लगभग स्नातक अध्ययन पछिको १६ महिनामा प्रवेश गरियो सरकारी सेवा। सरकारी सेवामा प्रवेश गर्नु कुनै साधारण रोजगारीको अवसर मात्र होइन्, यो त राष्ट्रप्रतिको प्रतिबद्धता र नागरिकप्रतिको जिम्मेवारीको ठूलो वाचा थियो। पहिलो पटक सरकारी सेवामा प्रवेश गर्नु केवल व्यक्तिगत सफलता मात्र थिएन, त्यो मेरो परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्य निभाउने अवसरको आरम्भ पनि थियो।
सरकारी सेवाको यो पहिलो वर्ष मेरो जीवनमा संघर्ष, सिकाइ र नयाँ संकल्पको अद्वितीय मिश्रण बन्यो। संघीय कार्यालयदेखि स्थानीय तहसम्मको अनुभवले मलाई सरकारी प्रणालीको नजिक पुर्यायो। भाषाको समस्या, स्रोतसाधनको कमी र जनअपेक्षाको दबाब जस्ता चुनौतीहरुले मलाई धैर्यवान, अनुशासित र समाधानमुखी बनाउन मद्दत गरे। वरिष्ठ सहकर्मीहरुको अनुभव र आफ्नै उमेर समूहका सहकर्मीहरुको उर्जाले मेरो पेशागत यात्रा अझ स्मरणीय बनायो। यो एक वर्ष मेरो लागि केवल जागिरको गणना मात्र होइन, व्यक्तिगत परिपक्वता, पेशागत विकास र राष्ट्रप्रतिको उत्तरदायित्व बुझ्ने पाठशाला थियो। यस लेखमा मैले यो यात्रामा गरेको संघर्ष, यस यात्राबाट सिकेका सिकाइ र सार्वजनिक सेवाको प्रभावकारीताका लागि लिएका केही संकल्पहरु संगालेको छु।
संघर्ष र चुनौतीहरुः सटिक र स्पष्ट संचार
सरकारी सेवामा प्रवेश गर्नका लागि नै ठूलो संघर्ष गर्नु पर्यो।प्राविधिक ज्ञान तर अप्राविधिक तिरको तयारी नै आफैंले रोजेको मुस्किल बाटोका साथै अदम्य साहश थियो। राजनितिमा केही चासो राख्ने अनि समाजका विविध घटनालाई नजिकबाट सुक्ष्म ढंगले विश्लेषण गर्न सक्ने क्षमताले यस बाटोमा मलाई केही सहजता प्रदान गर्यो।गणितीय शुत्रको स्मरणबाट दिग्दार भएको मेरो मष्तिस्कलाई सामान्य ज्ञानका, कुन राजाको मृत्युमा कति रानी सती गए देखि लिएर लोकतान्त्रिक शासनको बाइबल मानिने म्याग्नाकार्टा, अमेरिकी स्वतन्त्रता संग्राम, विश्व युद्धहरुका साथै आधुनिक AI सम्मका विषयमा परिचित गराउन अर्को महत्वपूर्ण चूनौती थियो।
स्थानीय तहमा कार्य गर्दा प्रत्यक्ष जनसरोकार र तत्काल निर्णय आवश्यक पर्ने भएकोले ती विषयका सम्बन्धमा देशमा विद्यमान ऐन, कानून, कार्यविधि लगायतका विषयको परिधिभित्र रहि कार्यलाई टुंगोमा पुर्याउन मेरा लागि ठूलै संघर्ष गर्नुपर्यो। विभिन्न जातीय र भाषिक पृष्ठभूमीका नागरिकहरुलाई सेवा प्रदान गर्दा सटिक र स्पष्ट संचारको अभावले कहिलेकाहीँ समस्या समेत निम्त्याउथ्यो।
संघीय कार्यालयमा काम गर्दा पनि नियम, प्रकृया र फइल प्रणालीको जटिलताले मलाई थकित बनायो। प्रत्येक निर्ययहरु कानूनी र प्रशासनीक ढाँचामा हुनुपर्ने भएकाले कहिलेकाही सामान्य कामहरु पनि ढिला हुने अवस्था बन्यो। उमेरमा वरिष्ठ सहकर्मीहरुको अनुभव र अनुशासनले दबाब सिर्जना गर्थ्यो भने समान उमेर समूहका सहकर्मीहरुसँग तालमेल मिलाउन थप उर्जा र समन्वय आवश्यक पर्थ्यो। सीमित स्रोतसाधन, नितिगत र कानूनी विषयमा ज्ञानको अभाव र उच्च जनअपेक्षाले दवाव सिर्जना गर्दथ्यो।
सिकाई र उपलब्धीहरुः युग सुहाउँदो सार्वजनिक सेवा
सरकारी सेवामा प्रवेशको यो बिहानीले मलाई सेवाग्राहीबाट सेवा प्रदायक त बनायो बनायो, यसले मलाई सरकारी सेवा केवल जागिर होइन, यो अनुशासन, धैर्य र सूक्ष्मता आवश्यक पर्ने पेशा हो भन्ने विषमा समेत ज्ञान दियो। यसले मलाई भाषिक र संस्कृतिक संवेदनशिलता सिकायो, जनतासँग विश्वासको सम्बन्ध बलियो बनाउन मद्दत गर्यो। मलाई सहकार्य, लचकता र समस्या समाधानका कौशलमा सुधार गर्ने प्रेरित गर्यो। चुनौतीहरु मात्र होइन समाधान खोज्ने प्रकृया, धैर्य र स्थिरताको लागि संघर्ष गर्न सिकायो र पेशागत रुपमा परिपक्व बनायो। जिम्मेवारी र उत्तरदायित्वबीच रहेको गहिरो अर्थबारे प्रष्ट बनायो। नियम कानूनको महत्व, धैर्य, सहनशीलता अनि अनुशासन, सहकार्य र समूहमा कार्य गर्न, समय व्यवस्थापन, समस्या समाधान र व्यवहारीक सोच निर्माण गर्न थप उर्जा प्रदान गर्यो।
सरकारी सेवा स्थिर छैन, नयाँ नीति, नियम, प्राविधिक परिवर्तन आउँदै गर्छन्। निरन्तर पढाइ, तालिम र आत्मविकास आवश्यक छ भन्ने गहिरो बोध भयो। सरकारी संरचनामा विद्यमान रहेका विभिन्न विकृति/विशंगतीहरुबाट जोगिनका लागि नैतिकता र सदाचार आवश्यक पर्ने र कसरी ती कुराहरु प्राप्त गर्ने भन्ने बारेमा धेरथोर ज्ञान हासिल गर्ने अवसरहरु प्राप्त भए।आत्मानुशासन र इमान्दारी सबैलाई जित्न सक्ने एटम बम हो भन्ने कुराको आत्मबोध भयो।
समग्रमा, संघर्ष र चुनौतीहरु केवल अवरोध मात्र थिएनन्। यीनीहरुले मलाई सरकारको कार्यप्रणाली, नीति र प्रशासनीक प्रकिया बुझ्न, व्यक्तिगत क्षमता विकास गर्न र भविष्यका जटिल परिस्थितिको सामना गर्न तयार हुनका लागि समेत मद्दत गरे। पहिलो वर्षका यी संघर्षहरुले मेरो संकल्प र सेवाप्रतिको प्रतिबद्दतालाई अझ मजबुत बनाएको छ।
संकल्पः भविष्यका दृष्टि र सुधारका सुझाव
यो एक वर्षको यात्राले मलाई सरकारी सेवामा सुधारका धेरै सम्भावना देखाएको छ। म भविष्यमा सेवा प्रवाहलाई अझ पारदर्शी र डिजिटल बनाउन योगदान पुर्याउने योजना बनाइरहेको छु। ई-गभर्नेन्सको प्रयोग बढाउने, फाइल प्रक्रिया छिटो बनाउने र नागरिकको सहभागिता बढाउने कार्यलाई प्राथमिकता दिने मेरो संकल्प छ।
त्यसैगरी, सहकर्मीबीच ज्ञान आदानप्रदानका कार्यक्रम, तालिम र क्षमता विकासलाई अझ बलियो बनाउन आवश्यक देखिन्छ। संघीय र स्थानीय तहबीचको सहकार्य र सूचना प्रवाहलाई अझ सशक्त बनाउन सकेमा सेवाको प्रभावकारिता बढ्नेछ भन्ने ज्ञान भइसकेको अवस्थामा यसका लागि हरतरहले लाग्न प्रतिबद्ध छु। सरकारी सेवाप्रति नागरिकको विश्वाश पुनः स्थापित गर्नका लागि आफ्नो स्थानबाट गर्न सक्ने हरेक विषयमा सतर्क रहने मेरो संकल्प रहेको छ।
विश्वमा सूचना तथा प्रविधीमा भएका द्रुततर परिवर्तनलाई अंगाल्नका लागि म आफूलाई योग्य र दक्ष बनाउनेमा विश्वस्त छु। आफूमा अन्तर्निहित ज्ञान, सीपको भरपूर उपयोग गर्न म कुनै हिच्किचाहट गर्ने छैन्।नियमितता, मितव्यायीता, कार्यदक्षता, प्रभावकारीता र औचित्यता जस्ता लेखापरीक्षणका सर्वमान्य सिद्धान्त झैं म आफ्नो कामलाई त्यसै अनुरुप हुने गरि गर्ने संकल्प गर्दछु।
अन्त्यमा,
सरकारी सेवामा बिताएको यो पहिलो वर्ष मेरो जीवनको अमूल्य पूँजी हो। यसले मलाई संघर्षको अर्थ, सिकाइको गहिराइ र सफलतामा पाइने वास्तविक सन्तोष अनि सुधारका लागि संकल्प गर्न सिकाएको छ।तीन ओटा कार्यालयहरुमा काम गर्दा सिक्न पाएको अवसरलाई मैले सही अर्थमा उपयोग गरेको महसुस गरेको छु। संघीय कार्यालय र स्थानीय तह दुवैको अनुभव, भाषिक चुनौती पार गरेको यात्रा, र विभिन्न उमेरका सहकर्मीहरूसँगको सहकार्यले मलाई अझ परिपक्व बनाएको छ। सार्वजनिक सेवामा रहेका तमाम विकृति र विसंगतीको साक्षी नभई यसमा आफ्नो तर्फबाट हरसम्भव सुधार गर्न प्रतिवद्ध छु। भविष्यमा अझै जिम्मेवार, पारदर्शी र जनकेन्द्रित सेवक बन्ने संकल्पसहित म मेरो यात्रालाई निरन्तर अगाडि बढाउनेछु।