
यात्रा संस्मरण
बोलेरो जीपमा घचक् घचक् घच्
किशोर पहाडी
मलाई थाहा छैन – म त्यो बाटोको स्थिति ठीक ठीक वर्णन गर्न सक्छु कि सक्दिनं जसले कि पाठकको आँखामा स्पष्ट चित्र आओस् | पहाडको बाटो – कच्ची – सेतो माटो छ – वीचमा अजङ्ग अजङ्गका खाल्टाखुल्टीहरू छन् | एउटा जीप मात्र छिर्ने सानो चौडाई छ र त्यही बाटोबाट हामीलाई लिएर गएको सेतो रङको बोलेरो जीप पहाड चढ्दैछ |
अजङ्गको पहाड छ – जङ्गलै जङ्गल भएको | जङ्गलै जङ्गल भएको भीर छ | भीरमाथि बाटो बनेको छ | छिन छिनमा जीप भीरतिरै ढल्किन खोज्छ – घचक्क: | खाल्टाखुल्टी छन् – ती खाल्डाखुल्डीलाई छल्दै, सकभर छल्दै बोलेरो हाँकिरहेछ जङ्गेभाइ |
दुलेगौंडाबाट दक्षिणतिर हिँडेको त्यो जीप एक घण्टा जति पहाड चढेपछि हामी सोध्छौँ –‘आइपुग्यो ?’
‘कहाँ आउनु ? अझ दुई घण्टा जानु छ’ – जङ्गे भन्छ |
हामी ‘मरता क्या न करता’ – चुप बस्छौँ |
ज्याग्दीखोला साहित्य प्रतिष्ठानले गर्न लागेको ‘साहित्यिक कार्यक्रम’मा जानका लागि हामी त्यसरी दुलेगौंडाबाट जीप चढेका थियौं |
काठमाडौँबाट महेश प्रसाईं, असीम सागर, मुकुन्द अर्याल लगायत दस जना थियौं भने महेशजीकै निमन्त्रणामा सिक्किमबाट आएका कवि अमर बानियाँ लोहोरो पनि हामीसँगै यात्रामा थिए | काठमाडौँमा कविमित्र महेशले मलाई फोनमा “स्याङ्गजाको साहित्यिक कार्यक्रममा जाने हो ?” भनेर सोधेका थिए र मैले “हुन्छ” भनेपछि हामी २०७५ कार्तिक ६ गते ललितपुरको पुल्चोकबाट साझा यातायातको बसमा दुलेगौंडासम्मको यात्रा गरेका थियौं |
काठमाडौँको हाम्रो टोली दुलेगौंडामा पोखराबाट आएका कविहरू भूपिन, सुरज उपाध्याय, अर्जुन अधिकारी, रविलाल अधिकारीहरूको टोली; झापाबाट आएका खगेन्द्रा खुशी, विवश बलिभद्र कोइरालाहरूको टोली; काठमाडौँबाटै अर्को बसमा आएर दुलेगौंडामा हामीलाई पर्खिरहेका दीपेन्द्र सिंह थापा र हेमन्त विवशहरूसँग मिसियौं | समूह ठूलै भएको कारण दुईटा बोलेरो जीपमा नअटाउने भएको हुनाले अर्को एउटा त्यस्तै जीपको खोजीमा आयोजकहरू लागे |
एउटा जीपको पत्ता भाँचिएको बनाउन लागेको हुनाले हाम्रो यात्रा केही विलम्ब भएको कुरा थाहा भयो |
त्यहीवीच पोखराबाट आएका रविलाल अधिकारी एउटा नोटबुकमा कविहरूको नाम र हस्ताक्षर लिँदै आइपुगे |
मैले हस्ताक्षर गरेपछि मेरो नामतिर हेरेर सोधे – “तपाई त्यही कथा लेख्ने किशोर पहाडी हो ?”
मैले “हो” भनेर उनको नाम सोध्दा उनको नाम पनि परिचित लाग्यो | ०३५-०३६ सालतिर पोखरामा विजय बजिमयले परिचय गराइदिएका मित्र रविलाल अधिकारी वीचमा चार दशकसम्म सम्पर्कमा नआउँदा दुवै नचिनिने भएछौँ | तर नाम दुवै परिचित | समयको अन्तरालले दुवैका अनुहार र शरीरमा थुप्रै परिवर्तन ल्याइसकेको थियो |
तीन वटा जीप तयार भएर आएपछि हामी छुट्टाछुट्टै बाँडिएर बस्यौँ | काठमाडौँबाट आएका दसै जना एउटै जीपमा थियौँ | म र महेशजी चालकसँगैको सीटमा थियौँ | हाम्रो पछाडिको सीटमा झापाबाट आएका कवि र मिडियाकर्मीहरू थिए | उनीहरू र हाम्रो वार्ता बाटोभरि चलि नै रह्यो | प्रोफेसनल भिडियो क्यामेराका साथ आएका ती मिडियाकर्मीलाई कुन टीभीबाट भनी मैले सोधेको पनि थिएँ, कुन्नि कुन अनलाइनबाट भन्ने जवाफ दिएका थिए – बिर्सें | यतिखेर अहिले आएर यसरी यात्रा संस्मरण लेख्छु भन्ने लागेको भए कापीमा टिप्थें होला तर टिपिएन | बिर्सेछु |
जोखिमपूर्ण बाटो देख्दा कहिले सकिन्छ जस्तो लाग्थ्यो तर जहिले सोध्दा पनि “दुई घण्टा लाग्छ”, “डेढ घण्टा लाग्छ” भन्ने जवाफले हामीलाई दिक्क बनाइराखेको थियो | एक ठाउँमा पुगेपछि झन् अजङ्गका पर्वत शृंखला देखाएर “उ: त्यो पहाडपछि अर्को पहाड, अर्को पहाडलाई पनि काटेर जानुपर्छ” भन्दा मैले र महेशजीले एकले अर्कालाई ट्वाँ परी हेर्यौँ | कविता पढ्न गज्जबको ठाउँमा आइएछ जस्तो लाग्यो | हुनत महेशलाई पनि कहाँ थाहा थियो र यात्रा यस्तो कठीन बाटोबाट हुनेछ भनेर |
म पुलुक् पुलुक् चालक जङ्गेको अनुहार हेर्थें | ऊ फूर्तिका साथ गेयर चेन्ज गर्दै स्टेरिङ, क्लच र एक्सिलेटरसँग व्यस्त थियो |
“यस्तो पहाडको उकालो सेकेण्ड गेयरमै तानिराखेको ? अचम्म छ |” गाडीसम्बन्धी अलि अलि जानकारी भएको मैले जङ्गेलाई सोधेँ |
“फोर गेयर हो नि त |” – जङ्गेले गेयर चेन्ज गर्दै भने – “नत्र कहाँ तान्थ्यो र ?”
मैले कौतुहलतापूर्वक थप सोधेँ – “यो बाटोमा बर्सातमा पनि गाडी चल्छ ?”
“चल्छ | हामी चलाउँछौँ |” – गर्वका साथ जङ्गे बोले |
हुनपनि हाम्रो देशमा यस्ता बाटाहरू कति छन् कति जहाँ जोखिमपूर्ण ढङ्गमा सवारी चल्ने, चलाउने गरिन्छ – वाध्यतावश | वाध्यतावश नै मानिसहरूले यात्रा गर्नै पर्छ | वाध्यता कस्तो भने – जीपभित्र त बसेर यात्रा गरे गरे नअटाएर जीपको माथि छतमा पनि बसेर यात्रा गर्ने | हाम्रो जीपमा पनि केही यात्रु माथि बसेका थिए क्या र !
यस्तो पहाडी बाटोको लागि बोलेरो जीप ठीक रहेछ – घचक् घचक् घचक् घचक् – मैले मनमनै सोचेँ | बाटो छ | घरहरू देखिंदैनन् | आधा घण्टा, एक घण्टापछि मात्र एउटा सानो बस्ती आउँछ | फेरि बाटो, रूखहरू – जङ्गल फेरि अर्को घण्टापछि अर्को सानो बस्ती | दुई घण्टा जति त्यस्तो बाटो आइसकेपछि साँझ परेर पनि अन्धकार भइसकेको थियो | झन् अब अन्धकार, त्यस्तो बाटो – केही आशाका साथ जङ्गेलाई सोधेँ – “अब आउन लाग्यो ?”
जङ्गेले मुण्टो हल्लाउंदै भने – “कहाँ र ? अझ एक घण्टा लाग्छ |”
उफ्फ़ … हाम्रो यात्रा जारी नै रह्यो | माथि कार्यक्रमस्थल पनि जङ्गलकै वीचमा रहेछ | त्यहाँ हाम्रो लागि स्वागतद्वार बनाइएको रहेछ | रूखैरूखको वीचमा एउटा ठूलो चौर रहेछ | अन्धकारमा विस्तारै मोबाइलको उज्यालोमा हामी त्यहाँ पुग्यौँ | आयोजकहरूले हाम्रो लागि रातको खाना पकाउँदै रहेछन् | रातको खाना खाने समय पनि त्यसो त भइसकेको थियो नि ! सबै भोकले झुत्तिएर थाल समात्न गइहाले |
खाँदाखाँदै हाम्रो टोलीका एक कवि छाया लामाले भनिन् – “ल हेर्नोस् भात त काँचै रहेछ |” भोकको सुरमा सपासप खाँदै गरेका हामीले छोएर हेरेको नभन्दै पाकेकै रहेनछ | हामी एकअर्कालाई ट्वाँ परेर हेर्न थाल्यौँ | खाने कि नखाने असमन्जसमा परियो | नखाउँ त भोको छ पेट | खाउँ फेरि पेट दुखेर हैरान हुने हो कि भन्ने डर | के गर्ने केमै आधा खाइयो, आधा थालमा त्यसै छोडियो |
अन्धकार छ | अग्ला अग्ला रूखैरूखका छाया मात्र देखिन्छन् | घर कतै देखिँदैन | हामीलाई कता सुताउने होलान् ? – सोच्न थालेँ | हाम्रो टोलीमा महेशजीकी किशोरावस्थाकी छोरी अभिश्री पनि थिइन् | स्याङ्गजा घुमाउन भनी ल्याएको छोरी त्यस्तो कठीन बाटो पार गरेर आइपुगेको अनकन्टारको जङ्गलमा त आत्तिन थालिन् |
आयोजक समूहका एक भाइ वसन्त आएर हामीलाई भने – “तपाईहरूलाई हामीले त्यहाँ एउटा घरमा सुत्ने व्यवस्था मिलाएका छौँ | त्यहाँ खाट जोडेर एकै ठाउँमा सुत्नुपर्नेछ |”

उनले व्यवस्था गरे अनुसार “हुन्छ” भन्नु बाहेक अर्को विकल्प थिएन | त्यसपछि काँचो भात त्यसै छोडेर हामी त्यहीँ आएर चिनेको त्यो भाइको पछि जान तयार भयौँ | मोबाइलको टर्च बालेर काठमाडौँबाट आएका हामी दस जनाको टोली वसन्तको पछि पछि लाग्यौँ | उबड़खाबड बाटो, अग्ला अग्ला रूखैरूख काला देखिने – घर कतै देखिंदैन | हामी ठूलाबडा नै चिन्तित थियौँ भने किशोरावस्थाकी अभिश्री आत्तिनु स्वाभाविक थियो – तिनी रुन पो थालिन् |
रुँदै अभिश्रीले आफ्ना पिता महेश प्रसाईंलाई भनिन् – “हजुरले घुमाउन लग्छु भनेर कस्तो ठाउँमा ल्याइसेको ?”
“चुप लाग | नरोऊ | यस्तै हो|” हामी सबैले उसलाई नरुनको लागि भन्यौँ |
खाना खाएको ठाउँबाट हामी धेरै बेर हिंडीसक्दा पनि अन्धकारमा हामीले कतै घर देखेनौँ | अभिश्री झन् रुन थालिन् – “हजुरसँग अब जिन्दगीमा घुम्न जान्नँ |”
करीब पाँच मिनेटपछि अँध्यारोमा बल्ल एउटा घरमा बलिरहेको बत्ती देखियो र “त्यहीँ हो” भनेर बसन्तले भनेपछि हामी बाटोबाट मुनिको घरतिर विस्तारै ओर्ल्यों |
बत्ती बलिरहेको देखेर ‘ए बत्ती त रहेछ’ भनी सोचें | दुईटा खाट जोडेर हामीलाई सुत्न भनी लगाइएको छिंडीमा भान्छा पनि त्यहीँ रहेछ | भान्छामा टेबलमाथि ग्यास चुल्हो बलिरहेको थियो | त्यस्तो जङ्गल भएको ठाउँमा त दाउराको चुल्हो बल्नु पर्ने नि ! तर आधुनिकताले ग्यासचुल्होकै आवश्यकता देखायो होला | त्यहीं ओछ्यानको छेउमा अर्को आवश्यकता – टेलिभिजन पनि रहेछ |
घरमा बत्ती त रहेछ तर छिनमै आउने, छिनमै जाने गर्दो रहेछ | काठमाडौँबाट हिंड्दा मैले आफ्नो झोलामा टर्चलाइट पनि राख्ने विचार गरेको थिएँ तर कुलमानको देशमा अचेल जताततै झलमल्ल हुने हुनाले केलाई चाहियो र भन्ने ठानी राखेको थिइनं | चप्पल पनि अचेल जुन होटेलमा पनि त्यहींको राखिने हुनाले चप्पल पनि पोको पारी ल्याएको थिइनं | अहिले आफू बास बसेको घर देख्दा भने टर्चलाइट र चप्पल दुवै ल्याउनु पर्ने रहेछ भनी पछुतो भयो | मैले यो कुरा भन्दा हाम्रो टोलीभित्रकै सिक्किमबाट आएका अमरजीले ‘टर्चलाइट मैले ल्याएको छु’ भनेर निकाले | अनि ढुक्क भइयो | टर्च किन पनि चाहिन्थ्यो भने त्यहाँ ट्वाइलेट घर बाहिर थियो | त्यसो त रातको बेला, जङ्गलवीच टर्च नै भए तापनि ट्वाइलेट जान घरबाहिर निस्कँदा जङ्गली जनावरले हमला गर्ला कि भन्ने डर पनि नभएको होइन | जे होस्, टर्चलाइट मात्र होइन, कवि अमर बानियाँ लोहोरोले चप्पल पनि ल्याएका रहेछन् |
टर्चलाइट र चप्पल मात्र होइन, अमरजीले त आफ्नो लागि आवश्यक वस्तुहरू सबै बोकेका रहेछन् – जस्तो कि – रामतोरियाँ | स्वास्थ्यप्रति सचेत उनी हरेक रात रामतोरियाँ पानीमा भिजाइराखेर भोलिपल्ट त्यही पानी पिउने रहेछन् | उनले आफ्नो झोलामा त्यसैले रामतोरियाँ टुक्रा पारेर ल्याएका रहेछन् | उनी रामतोरियाँलाई ‘भिण्डी’ भन्थे र त्यो रातभरि पानीमा भिजाएर भोलि बिहान त्यही पानी पिए पनि | यसोगर्दा रगतमा ग्लुकोजको मात्रा सन्तुलित हुन्छ रे – उनले त्यस्तै भने | काठमाडौँबाट आउँदादेखि नै महेशजीले साझा बसबाट ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साललाई बेला बेला फोन सम्पर्क गर्ने गरेका थिए | उनलाई हामीले दुलेगौंडामा भेटेनौं | यहाँ हरिनाशमा रातको अन्धकारमा पनि भेटेनौं |
हरिनाश – त्यो ठाउँको नाम ‘हरिनाश’ रहेछ – एउटा गाउँपालिका | चुल्होमा आफ्नो परिवारको निम्ति खाना पकाउँदै गरेकी युवतीले भनिन् – “उहिले उहिले हरिनाश एउटा भिन्दै राज्य थियो रे | यहाँ हरि नामका राजाले राज गर्थे रे | पछि लडाईमा राजा हरिको राज्य नाश भयो रे अनि त्यो ठाउँलाई हरिनाश भन्न थालिएको रे |”
सम्पूर्णा नामकी त्यो युवतीको माइती रहेछ त्यो घर | घर त्यही गाउँमा अलि तल छ रे |
बास बसेको घरको तलको तलामा हामी पुरुषहरू महेश, अमर, मुकुन्द, असीम र म थियौं भने माथिल्लो तलामा महिलाहरू अभिश्री, छाया, शारदाहरू थिए | को निदाए, को निदाउन सकेनन् – जसोतसो रात बित्यो | अमर रामतोरियाँको पानी खाने मात्र होइन, नियमित योगा पनि गर्दा रहेछन् | मेरो आँखा खुल्दा उनी त्यहीँ भुइँमा पलेंटी कसेर ध्यान गरिरहेका थिए | त्यस्तो बेला ‘आउनोस् एक छिन मर्निङवाक जाऔँ’ भनेर उनलाई बिथोल्ने म कस्तो होला फेरि ! दुवै एक छिन प्रकृतिको रसास्वादन गर्दै त्यो पहाडमा मर्निङवाक हिंड्यौं | “कतै जङ्गली जनावर त भेटिंदैन ?” – बिहानको मिर्मिरेमा पनि एउटा आशंका चाहिं रही रह्यो | टाढा कतै क्षितिजमा सूर्योदय हुन लागेको देखेर हामी दुवैले आ-आफ्नो मोबाइलले सूर्योदयको फोटो खिच्यौं |
त्यो दिन हाम्रो मुख्य कार्यक्रम ‘कविगोष्ठी’ थियो | कविगोष्ठीपछिको रात पनि हामी त्यहीँ बास बसेर भोलिपल्ट बिहान मात्र तल झर्नु पर्ने थियो तर हामी कसैलाई पनि त्यहाँ बस्न पटक्कै मन लागेको होइन | झन् त्यो किशोरी अभिश्री त रोएर हैरान थिइन् | त्यसकारण पनि हामीलाई त्यहाँ रहन दिएन | बिहान त्यो घरका बुढीआमा, तिनकी छोरी, बुहारीसँग कुरा गर्यौँ | हिजो खाना पकाउँदै गरेकी युवती बुढीआमाकी छोरीले आफूलाई ‘सम्पूर्णा मानन्धर’ भनेर परिचय दिइन् | मानन्धर ? – म छक्क परें | त्यो गाउँमा त मगरहरू पो छन् भन्ने सुनेको | नेवार पो भेटियो | मैले सम्पूर्णालाई सोधेँ – “ओहो ! नेवार पो रहेछ ? अनि नेवारी जात्रासात्रा पनि हुने गरेको छ ?”
“हुन्छ नि |”
“गाईजात्रा हुन्छ ?”
“हुन्छ | अस्ति तीजमा लाखे नचाइएको थियो |”
सम्पूर्णाले आफ्नो मोबाइलमा लाखेनाचको भिडियो खिचेकी रहिछन् | त्यो देखाइन् | खुशी लाग्यो – नेपालीले जहाँ पनि आफ्नो संस्कृति बचाएरै राखेका हुन्छन् |

मगर मात्र होइन, हरिनाश गाउँमा नेवारहरू पनि धेरै रहेछन् | भूपिन, हेमन्त र दीपेन्द्रले चाहिं मगरको घरमा रात बिताएका रहेछन् | त्यहाँ उनीहरूलाई कोदोद्वारा बनाइएको मदिरा, कोदोकै रोटी, बारीको गुलियो अम्बा खुवाएको कुरा गरेका थिए | हामीले चाहिं मानन्धरको घरमा मानन्धरको ग्यास चुल्हो प्रयोग गरेर आफै कालो चिया पकाई बिस्कुट खाएका थियौँ | कार्यक्रम बिहानदेखि नै भएको हुनाले हामी त्यसपछि कार्यक्रम स्थलतिरै पुग्यौँ | बिहानको उज्यालोमा बल्ल देखियो हरिनाश गाउँको सुन्दरता | हामी हरियो पहाडको टुप्पामा थियौँ | सुन्दर वातावरण | पर हिमशृंखलाहरू छ्याङ्ग देखिएका थिए – माछापुच्छ्रे प्रष्ट चिनिन्थ्यो – अन्नपूर्ण, लमजुङ हिमशृंखला होलान् – यस्तै सोचेर हेर्दै रहें | पहाडको टुप्पाबाट तल फेदमा भएको गाउँका फाट्टफुट्ट घरहरू पनि देखिए | ठाउँ त निकै सुन्दर पर्यटकीय पो रहेछ | कार्यक्रमस्थल ठूलो चौरमा रहेछ | छेउमा एउटा सानो मन्दिर – सायद मनकामनाको मन्दिर होला | त्यहीं हाम्रो निम्ति बिहानको नास्ता र खानाको तयारी गर्दै गरेका पनि देखियो | एउटा खसी त्यहीं बाँधिएर ‘म्याँ…’ पनि गर्दै थियो | राति अन्धकारमा त केही देखिएको थिएन – बिहान कार्यक्रम गर्न अलि पर पाल टांगिएको पनि देखियो | कविहरू मिलन समीर, घनश्याम न्यौपाने परिश्रमी, देवेन्द्र लम्साल पनि देखा परे |
कार्यक्रममाथि कार्यक्रम – ज्याग्दीखोला साहित्य प्रतिष्ठानको कार्यक्रम टनाटन नै थियो | अघिल्लो दिन गरिएको अधिवेशनको बाँकी अंश, ‘ज्याग्दीखोलाको तरङ्ग’ पत्रिकाको लोकार्पण, मगर भाषा साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुति, कविगोष्ठी – के के हो के के – कार्यक्रम एकपछि अर्को हुँदै थियो र हामीलाई चाहिं फर्कनकै हतारो थियो | कार्यक्रममा कविता सुनाउनभन्दा पनि हामी कार्यक्रम सकिनासाथ फर्कन कसरी सकिन्छ भन्ने चिन्तामै लाग्यौँ |
हरिनाश गाउँमा सवारीको व्यवस्था कस्तो रहेछ भने दिनहुँ गाडीहरू यात्रु लिएर तल जाने अनि साँझ मात्र तलबाट माथि आउने रहेछन् तर संयोगवश आयोजकहरूले पोखराका कविहरूलाई भनेर पोखरासम्मै जान एउटा बसको व्यवस्था गरिदिएका रहेछन् | हामीले पनि त्यसमै फर्कने अनुमति पायौँ |
बोलेरो जीपमा आउँदा त त्यस्तो कठीन देखिएको बाटोमा यत्रो ठूलो बस कसरी लैजाने हुन् भन्ने एक किसिमको चिन्ता रङ्गमङ्गियो तर बस तयार थियो र त्यही कच्ची पहाडी बाटोमा हामीलाई लिएर तल ओर्लन थाल्यो | म बसको झ्यालमै थिएँ | जङ्गलै जङ्गलयुक्त अजङ्गको भीर देख्थें | लाग्थ्यो – त्यहाँबाट कहिल्यै कुनै सवारीसाधन खसिहाल्यो भने त्यो पत्ता लगाउन एक हप्तामा पनि सकिन्न होला – त्यस्तो दुरुह भीर छ | बाटोको अर्कोतिर पनि त्यस्तै विकराल भीर रहेछ | भीर नै भीरवीचको त्यो कच्ची बाटोबाट त्यो बस घचक् घचक् घचक् गर्दै गुड्दै थियो | त्यस्तो साँघुरोबाटोमा फेरि एक पटक त तलबाट आएको त्यस्तै अर्को बसलाई साइड दिन परिरहेको | अन्ततः तीन घण्टाको यात्रापछि अँध्यारो अँध्यारोमा बस तल दुलेगौंडाको राजमार्गमा पुग्यो |
बसको अगाडि चालकसँगैको सिटमा दिपेन्द्र सिंह थापा र हेमन्त विवशसंग कवि भूपिन थिए, बोलाएँ – “भूपिन !”
“हजूर दाइ !” भूपिनले जवाफ दिए |
भनें – “एडभेन्चरस जर्नी हकि ?”
“हो दाइ ! म झन् यहाँ बसको अगाडिको सिटमा … … बेला बेला मैले भिडियो खिचेको छु दाइ !” – भूपिनले भने |
बसचालकको कान हाम्रो वार्तालापतिर नै रहेछ क्या र ! उनले हामीलाई भने – “यो बाटोमा मैले पहिलो पटक बस हाँकेको हुँ |” पहिलो पटक ? – उसको कुरा सुनेर हामीले ऊतिर विस्फारित नेत्रले हेरेको हेर्यै भयौं |
हेडलाइट बालेर बस दुलेगौंडाबाट पोखरातिर हुइंकिन थाल्यो | जिन्दगी आफैमा यसरी निरन्तर हुइंकिने एउटा यात्रा नै हो |
