काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा (एमाले) मा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खोस्न नसक्ने बताएकी छन्।
काठमाडौंको बबरमहलस्थित कार्की बन्क्यूटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरी नागरिकका रूपमा फर्केपछि पुन मातृ पार्टी एमालेमा संलग्न हुन पुगेको बताइन्।
पत्रकारहरूले एमालेले पार्टी राजनीतिमा आउन रोक्यो, अब के गर्नुहुन्छ भनेर प्रश्न सोधेका थिए। यसमा उनले स्पष्ट जबाफ दिइनन्।
उनले भनिन् -‘कतिपय विषय आन्तरिक मामिला हुन्छन्, मैले अहिले सदस्यता नवीकरण गरेको हुँ, तर म पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ। जननेता मदन भण्डारीले मलाई शपथ खुवाएको हो विराटनगरमा। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्दैन,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति लक्षि गर्दै भण्डारीले भनिन्।
‘राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि बाँकी जीवन कुनै संगठनमा लगाएर भूमिका खेल्न आफूले चाहेको र सोअनुसार नै मातृ पार्टी एमालेको सदस्यता नवीकरण विधिपूर्वक गरेको छ। हुलहुज्जतको भरमा मेरो सदस्यता नवीकरण रोक्न मिल्दैन,’ उनले भनिन्।
उनले पार्टी प्रणालीअनुसार चल्ने पनि बताएकी छन्। आफु अहिले पनि एमालेमा आबद्ध भएको कुरामा उनले जोड दिइन् ।
भण्डारीले भनिन् -‘नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ।
मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु।
देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो। विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ।’
‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन(मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउनेरनबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ। जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ।’
‘मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो।त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो। मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ।’
उनले अगाडि भनिन् -‘यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।
म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन्। त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन। यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ।’