काठमाडौं। कवि प्रकाश सापकोटाको नविनतम कविताकृति “सन्नाटाका सुस्केरा” लोकार्पित भएको छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा मंगलबार राजधानीमा एक समारोहबीच आयोजित कार्यक्रममा बरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी,श्रीओम श्रेष्ठ ‘रोदन’,पवन आलोक,सुस्मिता नेपाल,राधेश्याम लेकाली लगायतले सापकोटाको उक्त कृति लोकार्पण गरे ।
कृति लोकार्पण गर्दै प्रमुख अतिथि दिनेश अधिकारीले भने- ” कविले आफैंले आफ्नोपन खोज्ने र आफैंलाई परिमार्जन गर्नुपर्दछ । कविले लेखेको मनस्थितिमा पाठक पुगेन् भने कविता सफल नहुन सक्छ । कवि सरल हुनुपर्छ,प्रकाशका कवितामा त्यो सरलपन छ ।”

प्रकाश सापकोटाका कविता उनकै जस्तो हुनुपर्छ भन्दै वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले भने- “सृजनामा आफ्नोपन हुनु जरुरी छ । सापकोटामा त्यो आफ्नोपन छ । विश्वका अतिविकसित देशमध्येको डेनमार्कलाई कर्मथलो बनाएका प्रकाशले त्यहाँ रहेपनि आफ्नो माटो भुल्न सकेका छैनन् । देश दुखेको छ । बेथितिमा दुखी भएका छन् ।” उनले सुनकोसी वाङ्मय प्रतिष्ठान वर्षाको सुनकोसी नबनोस,निरन्तर बगोस भनेर प्रतिष्ठानलाई शुभकामना पनि दिए ।

यस अघि कृतिमाथि चर्चा गर्दै यादव भट्टराईले भने -“मझ्यौला र छोटा आयतनका कविताको बाहुल्यता रहेको कविता कृतिमा कवि चेतना मज्जैले पोखिएको छ । नेपाली समाजमा भएका हरेक घट्नाहरु लिने सरल भाषाका कविता छन् ।”
उनले प्रकाश सापकोटाका कविता शिर्षकको केन्द्रीयतामा घुमेको बताए । कवितामा घृणा छ,आक्रोस छ,पछि परेकोमा चिन्ता छ भन्दै विदेशमा बसेर पनि देश दुख्नु कविको संवेदनशिलता प्रष्ट हुन्छ भन्दै कविताहरु सरल भैकन पनि बिम्बात्मक रहेको बताए ।

अर्का चर्चाकार सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले सापकोटा कविमन भएको मान्छे आफुले पाएको बताए । उनले विदेशमा भएपनि कविको मन नेपालमै रहेको बताए । उनले भने -“कुनैपनि विषयको उत्खनन सुन्दर ढंगले कविताहरुले गरेका छन्,पाठकको मन झंक्रित बनाउने सन्नाटाका सुस्केराका कविलाई हार्दिक बधाई ।”
कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक,नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,भुँडीपुराण प्रकाशनका केशव पराजुली लगायतले शुभकामना मन्तव्य राखे ।
डेनमार्कमा रहेका कवि प्रकाश सापकोटाको लिखित मन्तव्य कवि विश्व सिग्देलले बाचन गरेको उक्त कार्यक्रममा सापकोटाले आफ्ना मनका अनुभूति राख्दै उपस्थित सबैप्रति कृतज्ञता जाहेर गरे ।
कवि दिपक चौलागाईं,रुपा रिसाल लगायतले लोकार्पित कृतिका कविता वाचन गरे ।
इखबर नेट मिडिया सहयोगी रहेको कार्यक्रम छविरमण सिलवालको अध्यक्षता एवं प्रदीप सापकोटाको सञ्चालनमा भएको हो ।कार्यक्रममा स्वागत मन्तव्य पूर्ण बहादुर श्रेष्ठ ह्रदयङ्कृतले राखे ।
प्रकाश सापकोटाको यो पाँचौ कृति ‘सन्नाटाका सुस्केरा’ लाई सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२५०। रहको छ । वितरक भुँडीपुराण प्रकाशन रहेको छ ।
्र