
काठमाडौं । ३० मे २०२५ को साँझ करिब ५ बजे, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा चरासम्बन्धी सर्वेक्षणका क्रममा नेपालमा अहिलेसम्म अभिलेख नभएको चरा देखिएको छ। यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइने Malabar Whistling-thrush (Myophonus horsfieldii) रहेको यो चरालाई Birdlife International र Bombay Natural History Society (BNHS) का चरा विज्ञहरूको पुष्टि अनुसार, नेपालमा पहिलो पटक Malabar Whistling-thrush (Myophonus horsfieldii) को अभिलेख भएको छ।

बुटवल–दाङ विद्युत प्रसारण लाइनको सर्वेक्षणका क्रममा, नेपाल पंक्षी संरक्षण संघ का परियोजना अधिकृत देउ बहादुर राना र अमृत नेपालिले चराहरूको अवलोकन गरिरहेका थिए। यसै क्रममा, एक अनौठो निलो रंगको चरा देखियो। सुरुमा यो चरा नेपालमा सामान्य पाइने Blue Whistling Thrush (Myophonus caeruleus) हो भन्ने अनुमान गरियो। तर, फोटो हेर्दा र क्षेत्रीय विवरण तुलना गर्दा फरक विशेषताहरू जस्तै निधारमा स्पष्ट V आकारको चम्किलो निलो थोप्लो, काँधमा उज्यालो निलो भाग र कालो चुच्चो देखियो। यी विशेषताहरू Malabar Whistling Thrush मा पाइन्छन्।

अवलोकनपछि, फोटो र भिडियो Birdlife International र Bombay Natural History Society (BNHS) भारतका चरा विज्ञहरूलाई पठाइयो। विस्तृत अध्ययन र तुलना पछि, चराको पहिचान Malabar Whistling-thrush नै भएको पुष्टि भयो। यसले नेपालमा यस प्रजातिको पहिलो आधिकारिक अभिलेख भएको छ।
Malabar Whistling-thrush भारतको पश्चिमी घाट, र मध्य भारतमा मात्र पाइन्छ। नेपालमा यसको उपस्थिति या त फिरन्ते हो वा यस क्षेत्रको पहिले पत्ता नपरेको विस्तार हो भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ।



