काठमाडौं, जेठ १८ । बुद्ध प्रकाश फाउण्डेशनको आयोजनामा २०८२ जेठ १७ गते शनिबार साँझ “एक दुर्लभ साँझ, छोक्न्यी रिन्पोछेसँग” नामक विशेष कार्यक्रम काठमाडौंको स्वयम्भू बुद्धपार्कस्थित बोेधि गृहमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ध्यान गुरु छोक्न्यी रिन्पोछेले ध्यानसम्बन्धी आन्तरिक सन्तुलन, दृष्टिकोण, अभ्यास र व्यावहारिक बौद्ध शिक्षाका गहन पक्षहरू प्रस्तुत गर्नुभयो।
उहाँको शिक्षाले समकालीन मानिसले भोगिरहेको तनाव, व्यस्तता र आकांक्षाबीच कसरी सुसम्बद्ध जीवनयात्रा सम्भव हुन्छ भन्ने कुरालाई उजागर गर्यो। रिन्पोछेले आन्तरिक शान्ति र बाह्य सफलता एकअर्काको विरोधी नभएको बताउँदै चित्तको आन्तरिक शान्तिको आधारभूत अवस्था ९बेसलाइन० लाई चिन्न सके यी दुई पक्षले एकअर्कालाई सघाउने गरी सन्तुलित ढंगले जिउन सकिने बताउनुभयो।
सहभागीहरूले रिन्पोछेको अन्तरदृष्टिपूर्ण विचार, विनोदपूर्ण जीवन्त प्रस्तुति शैली, र सहज भाषामा दिइएका शिक्षाबाट गहिरो प्रेरणा लिए। उहाँका ओपन हार्ट ओपन माइन्ड, फियरलेस सिम्प्लिसिटी, केयरफ्री डिग्निटी लगायतका कृति संसारभरका पाठकमा लोकप्रिय छन्।
ध्यान, होसपूर्ण उपस्थिति, र सन्तुलनको बौद्ध शिक्षालाई सहज ढंगले प्रस्तुत गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजक बुद्ध प्रकाश फाउण्डेशनले बताएको छ।
फाउण्डेशनले यस्ता अर्थपूर्ण कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिइने बताएको छ।