काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
शुक्रबार नेपाल भित्रिएको मनसुनी वायुको प्रभाव अहिले कोशी प्रदेशका अधिकांश भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले कोशी प्रदेशका विभिन्न भूभागमा पछिल्लो ६ घन्टामा छिटपुटदेखि हल्का वर्षा भएको छ।न्यूनचापीय क्षेत्रको प्रभाव सँगसँगै नेपालको पूर्वी भूभागबाट मनसुन भित्रिएको थियो। न्यूनचापीय क्षेत्र पनि पूर्वी भूभागको पूर्वतिर सरेको छ।
काठमाडौंकै कुरा गर्दा राम्रोसँग वर्षा भएको छैन। बादल पनि लागेको छैन। हावाको गति र दिशा पनि मनसुनका लागि अनुकूल छैन।
सामान्यतया मनसुन भित्रिएको एक साताभित्र देशभरि फैलिन्छ। कहिलेकाहीँ दुईरतीन दिनमै पनि फैलिन सक्ने अनुमान छ । यसपाली मनसुन फैलन केही समयलाग्ने अनुमान गरिएको छ ।सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।