आदरणीय पाठक महानुभावहरु,
सत्य,तथ्य र भरोसायोग्य समाचार संप्रेषणको लागि हामी आएका छौं । निष्पक्षता हाम्रो मुटु हो । स्वतन्त्रता हाम्रो मर्म हो । इमान्दारीता र नैतिकता हाम्रो धर्म हो । हामी यी कुरामा कहिल्यै विमुख हुने छैनौं । पट्यारलाग्दो बर्तमान परिवेशमा हामी नकारात्मक र निराशावादी कुरा गरेर पाठकहरुको मन दुखाउने छैनौ । स्वभाविक रुपमा हामी खोजपत्रकारिता,विकास पत्रकारिता र शिक्षा पत्रकारिताको थालनी गर्न चाहान्छौं । हामी स्थानीय आधारभूत तहका सर्वसाधारणका साना साना समाचारलाई प्राथमिकता दिएर सूचनामा आमजनताको पहुँचको संवैधानिक ब्यवस्थाको सुनिश्चिता ब्यक्त गर्न चाहान्छौ । जनताका आधारभूत आवश्यकताका समाचारहरुलाई प्राथमिकतामा राखेर समाचार संप्रेषण गर्नु हाम्रो मूल मर्म हुनेछ ।
हामी नेपाली भाषा,साहित्यको क्षेत्रमा पनि केही गरौं भन्ने हुटहुटी बोकेर यहाँहरु समक्ष आएका छौं । साहित्यकर्ममा लाग्ने अग्रजहरुको सम्मान हाम्रो अभियान पनि हो । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा केही योगदान थप्न सकिन्छ कि भन्ने आसयले हामी यहाँहरु समक्ष प्रस्तुत भएका छौं ।यसै कारण हाम्रो इ खबर नेट अरु अन्लाईन भन्दा पृथक बनाउने यत्न गर्दैछौं ।
हाम्रो पूर्विय दर्शन र चिन्तन,धर्म संस्कार र संस्कृतिको व्यवहारिक परिक्षण र प्रयोग तथा तिनको दैनिकीमा उपभोगको कारण पश्चिमाहरुले गरेको विज्ञान र प्रविधिमा दुनियाँ चकित पार्ने आविष्कारहरु सुनेर ट्वाल्ल पर्नु हाम्रो दैनिकी भएको छ । यस अबस्थामा हाम्रा पुरातन संस्कार र संस्कृतिहरु,चिन्तनहरुबारे छलफल बहस हुनु अनिवार्य छ । तसर्थ,यसतर्फ हामी केन्द्रित हुनेछौं । समस्त दिग्दज विद्धत वर्ग,अध्येता सबैबाट लेख रचनाको अपेक्षा पनि गरेका छौं ।
यसै क्रममा विगत डेढ दशक अगाडि प्रकाशित कृतिहरुको वारेमा पनि जानकारी गराउने,चर्चा चलाउने हाम्रो उद्देश्य रहेको छ । लेखनमा स्थापित भएका,राम्रा लेखेर पनि चर्चामा नआएका अग्रजहरुका कृतिहरुको सामान्य परिचय पनि प्रकाशित गर्ने हाम्रो प्रयास शुरु भएको छ । अर्काेतिर पठन संस्कृतिको विकासमा पनि यसले सानो भएपनि टेवा पुग्ने आशा पनि गरेका छौं ।
देशमा विषम परिस्थिति छ । आर्थिक दुरावस्थाले आक्रान्त समयसँग साक्षात्कार गर्नुपरेको परिवेश छ । हाम्रो देशका शासकहरुले साहित्यलाई बुझिदिनुपर्नेमा त्यस्तो हुन सकेन् । आजसम्मका कुनैपनि शासक साहित्यप्रेमी देखिएनन् । आफ्ना रित्तापेटहरुमा पटुकी कसेर पनि भाषा,साहित्यको उन्नयनमा श्रष्टाहरु लागिरहे । तर राज्यका जिम्मेवार तहमा उपल्लो ओहदामा रहनेहरुमा यिनको विकास,संरक्षण र बाँच्ने वातावरण सृजना गर्ने परिपाटीको थालनी कहिल्यै भएन । भयो त केवल सत्ता,कुर्सीमोह मात्र । तसर्थ,हामी अनुरोध गर्न चाहान्छौं । राज्य जिम्मेवार बनोस। श्रष्टाहरुको हीत र बाँच्ने परिस्थितिको निम्ति आवश्यक नीति नियम तर्जुमा गरोस । ऐन कानून निर्माण गरोस । श्रष्टा,साहित्यकारहरुको उचित सम्मानपूर्ण जीवनयापनमा केही भएपनि राहत गरोस । स्थानीय सरकारहरुले पनि सोही बमोजिम क्रियाशिलता देखाउन । भ्रष्टाचार र बेथितिमा रोकावट गरे नेपाली भाषा,साहित्यको क्षेत्रमा योगदान गर्नेको उचित मूल्याँकनको परिपाटी बसाल्न गाह्रो हुँदैन ।
जुन देशको भाषा,साहित्य र कला उपल्लो दर्जाको हुन्छ त्यो देश सभ्य र सुसंस्कृत अनि समुन्नत हुन्छ । त्यसैले सम्बन्धितहरुको ध्यान त्यतातिर जाओस । अनि धर्म,कला,साहित्य विशुद्ध राजनीतिक हस्तक्षेप र पूर्वाग्रह मुक्त होस । जुठोपुरो खाएर सत्ताको भजन गाउने झुण्ड भन्दा लेखनीमा निरन्तर सक्रियहरु,स्तरीय साहित्य रच्नेहरुलाई अबसरहरु आओस । यहि कामना छ ।
आदरणीय पाठकहरु, हाम्रो यो अभियानमा सबैको सकारात्मक साथ सहयोगको पनि हामीले अपेक्षा गरेका छौं । हामी चाहान्छौं यहाँहरुको खवरदारी । हामी अपेक्षा गर्छाै यहाँहरुको सकारात्मक आलोचना, अमूल्य राय सुझाव र प्रतिक्रियाको सदैव खाँचो छ । बामे सर्दैछौं । तपाईहरुको साथ सहयोगले हामी टुकुटुकु हिड्न सक्ने कुरामा दुईमत छैन् । यहाँहरु विना हाम्रो केही छैन् । हामी हुनेपनि छैनौं । आशा छ, हामीले यहाँहरुको माया,सदभाव र सुभेच्छा पाइरहनेछौं ।
हार्दिक धन्यवाद ।