
कृति : एउटा आकारको बारेमा
विधा : कथासंग्रह
कथाकार: भाउपन्थी
समाजका यथार्थपरक घट्नाहरुमाथि कथाको माध्यमबाट उजागर गर्ने भाउपन्थीको प्रयास देखिन्छ । समाजका विविध अवयवहरुलाई सरल र सुन्दर ढंगले खिपेर कोरिएका चौध थान कथाहरु यसकृतिभित्र समेटिएका छन् ।
भाउपन्थीको यो पहिलो कथासंग्रह हो। यसमा समाजकै विभिन्न पात्रहरुअटेका कथाहरु छन्। कुनै कथाका आयतन अलिक लामा पनि छन्। कुनै कुनै मझ्यौला पनि। कथाहरु सलल बगेका छन्। पाठकहरु मोहित हुन्छन् कथाहरुमा।
नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा वि.सं.२०३२ सालमा एउटा आकारको बारेमा कथासंग्रह प्रकाशित भएको हो ।
कृति : आकाश माटोमाथि
विधा : कवितासंग्रह
कवि : कृष्णप्रसाद पराजुली
सरल,सहज कविता लेखनका धनी कवि पराजुलीको प्रस्ुतत कृतिमा स्वादका विविधतायुक्त कविताहरु संलग्न गरिएका छन् । यसमा छन्दोबद्ध कविता ४२ थान छन् । यसैगरी १४ वटा मुक्तक अटेका छन्। संग्रहमा २५ थान गद्यात्मक कविताहरु समावेश छन् । यससंग्रहमै १८ वटा गीतिकविताहरु राखिएका छन्। करिब डेढ दर्जन अनुदित कविताहरुले पनि यसमा स्थान पाएका छन् ।यसरी यो संग्रह विधितायुक्त बनेको देखिन्छ।
सरल भाषाशैलीमा लेखिएका कविताहरु पाठकले पढ्न पाउँछन्।
प्रस्तुत कृति आकाश माटोमाथिलाई कृष्ण साहित्य सदनले वि.सं२०६५सालमा प्रकाशित गरेको हो ।
कृति : दुर्गा हजुरमाको भूत
विधा : बालउपन्यास
उपन्यासकार : प्रदिप नेपाल
बालमनोविज्ञानलाई उधिनेर लेखिएको उपन्यास हो। यसमा बालबालिकाको मष्तिस्कमा सकारात्मक भाव प्रवेश गराउने सकारात्मक उद्देश्य देखिन्छ। जीवन र जगतको बारेमा बालबालिकालाई सहि दिशावोध गराउने प्रयास उपन्यासले गरेको छ।यो जीवनसँग प्रत्यक्ष र परोक्ष रुपमा सन्निकट उपन्यास हो ।
अत्यन्तै मनोरञ्जनशैलीमा लेखिएको शिक्षामूलक बाल उपन्यास हो यो।चित्रहरु पनि यथार्थमा कोरिएको छ।
यसले जीवन र जगतलाई हेर्ने बैज्ञानिक दार्शनिक चेत बालबालिकामा विकास हुन सघाउ पुर्याउँछ । सरल भाषाशैलीले उपन्यासको प्राण भरेको छ।
प्रदिप नेपालको यो बालउपन्यास दुर्गा हजुरमाको भूतलाई रोडम्याप नेपाल प्रकाशन प्रा.लि.ले वि.सं.२०६१ सालमा प्रकाशनमा ल्याएको हो।

