
काठमाडौं विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन् ।उनका अनुसार, आन्दोलन भड्कन सक्ने भयले सजग हुनुपर्नेमा महासंघ नेतृत्वले जोड दिएको छ । हरेक दिन उनीहरूले माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरू ‘विजयोन्मुख’ भएको बताएका छन् ।
“यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी छ,” सुवेदीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ ।”
आन्दोलन डिरेल्ड (विपथगामी) भड्कनबाट आफूलाई जोगाउँदै मर्यादित भएर आन्दोलनमा जुट्न शिक्षकलाई उनले आह्वान गरेका छन् । “त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन । त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ,” उनले भनेका छन्, “मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ ।” शिक्षकको प्रदर्शन आज (वैशाख ५) १७औँ दिन पनि जारी रहनेछ ।
शिक्षक सडकमा उत्रँदा यातायात सेवा प्रभावित भएको छ । १६औँ दिन (वैशाख ४)को प्रदर्शनक्रममा बानेश्वरको निषेधित क्षेत्रनजिक पुग्दा केही शिक्षकले प्रहरीसित वादविवाद गरेको देखिएको थियो ।
सरकारले यथाशक्य चाँडो ऐन ल्याउने भनेर घर फर्किन शिक्षकहरूलाई आग्रह गरिरहेको छ । शिक्षकहरू ऐन आउने सुनिश्चितता नभएसम्म घर नफर्किने अडानमा छन् ।



