
काठमाडौं । फिल्म ‘जेरी अन टप’ ले तीन दिनमा सवा दुई करोड ग्रस कमाई गरेको छ । तीन दिनमा २ करोड २२ लाख ८१ हजार ग्रस कमाई गरेको हो ।
पहिलो दिन शुक्रबार फिल्मले ७२ लाख ५९ हजार, दोस्रो दिन शनिबार ८६ लाख ३८ हजार र तेस्रो दिन आइतबार ६३ लाख ८४ हजार रुपैयाँ ग्रस कमाई गरेको फिल्म ‘जेरी अन टप’का नायकसमेत रहेका अनमोल केसीले जानकारी गराएका चाहन । तीन दिनमा ‘जेरी अन टप’ ६० हजार दर्शकले हेरेको नायक केसीले उल्लेख गरेका छन् ।
सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय रहेको छ ।
हेमराज बिसीको कथा रहेको यस फिल्ममा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ भने सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ ।
अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ ।






