रौतहट । चन्द्रपूर नगरपालिकामा अबस्थित नमूना आवासीय विद्यालयले व्यवहारिक शिक्षामा जोड दिएको छ ।
प्रत्येक शुक्रबार विद्यालयले नियमित रुपमा विभिन्न ब्यवहारिक ज्ञानहरु आफ्ना विद्यार्थीहरुलाई दिइरहेको उक्त विद्यालयले विभिन्न शैक्षिक क्रियाकलापहरुमा पनि उतिक्कै जोड दिंदै आइरहेको छ । हरेक शुक्रबारलाई बुक फ्रि फ्राइडेको रुपमा थालनी गरि सो दिन विद्यार्थीहरुलाई दैनिक व्यवहारमा गर्नुपर्ने विभिन्न क्रियाकलापहरु सबै कक्षाका विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक लोक श्रेष्ठले बताएका छन् ।


यसैगरी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुको निम्ति समय समयमा उनीहरुको शैक्षणिक स्तर उकास्न,उनीहरुको शिक्षण क्षमता अभिवृद्धि गर्न तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

विभिन्न ब्यवहारिक क्रियाकलापमा दुना टपरी गाँस्ने,जुत्ताको तुना बाँध्ने,कपडामा आइरन लगाउने,कपासको बत्ति काट्ने लगायतका सीपहरु सिकाउँदै आइरहेको नमूना विद्यालयले विभिन्न साहित्यिक सृजनाहरु जस्तै कविता लेखन,ब्यक्तित्व विकास गर्न बक्तृत्वकला,नृत्य आदिको व्यवहारिक ज्ञान दिदै आइरहेको छ ।
यस्ता शैक्षिक गतिविधिले सबै क्षेत्रको ज्ञान विद्यार्थीहरुमा हुन सकोस र सानातिना कुराहरुमा अरुको भर पर्नु नपरोस भन्ने धारणाले यस्ता ब्यवहारिक कृयााकलापहरु सिकाउने थालिएको विद्यालयका सञ्चालक लक्ष्मी श्रेष्ठले इखवर नेटलाई बताएकी छन् । स्मरणीय छ,नमूना आवासिय विद्यालय गत बर्षको एसईईमा चन्द्रपूर नगरपालिकामा सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय बनेको थियो ।






