काठमाडौं । लिबर्टी क्याम्प २०२५ काठमाडौंको बूढानीलकण्ठस्थित रोयल भिल्ला रिसोर्टमा असार १३ देखि १७ ९जुन २७ – जुलाई २० सम्म सम्पन्न भएको छ।
“Empowering Youth to Ignite Freedom through Entrepreneurship” अर्थात् “उद्यमशीलताको माध्यमबाट स्वतन्त्रताको ज्योति बाल्ने” भन्ने मूल नारासहित आयोजित छ दिन लामो आवासीय क्याम्पमा देशभरिबाट छानिएका ३० जना ऊर्जाशील युवाहरूले सहभागिता जनाए।
क्याम्पमा सहभागीहरूले स्वतन्त्रताको आधारभूत सिद्धान्तहरू, उद्यमशीलता, वित्तीय साक्षरता, क्लासिकल लिबरलिज्म, सम्पत्ति अधिकार, ब्लकचेन प्रविधि, स्वतन्त्र सहरहरू, सार्वजनिक नीति, र नेपाल तथा विश्वको आर्थिक इतिहासजस्ता विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट प्रशिक्षण प्राप्त गरे।
“केही राष्ट्रहरू धनी र अरू गरिब किन?”, “कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट उदार विचारको सम्प्रेषण”, र “२१औँ शताब्दीमा समानता बनाम स्वतन्त्रता” जस्ता शीर्षकहरूमा सत्रहरूले सहभागीहरूलाई गहिरो सोच र संवादमा संलग्न गराए।
कार्यक्रममा व्यापार आइडिया प्रस्तुतीकरण, समूहगत छलफल, र नीतिगत बहसजस्ता गतिविधिहरू समेत समावेश गरिएका थिए। सहभागीहरूले आफूले अनुभव गरेको सिकाइ र सञ्जाल विस्तारको अवसरप्रति उच्च सन्तुष्टि व्यक्त गरेका छन्।

क्याम्पले विभिन्न क्षेत्रका युवाहरूलाई आपसी संवाद र साझा अनुभवमार्फत नजिक ल्याएको थियो। गैर-आर्थिक पृष्ठभूमिका सहभागीहरूका लागि यो क्याम्पले स्वतन्त्रता, जिम्मेवारी र उद्यमशीलताको नयाँ दृष्टिकोण प्रदान गरेको थियो।
संगठकहरूको भनाइ अनुसार,यो क्याम्पले भविष्यमा युवा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, र स्वतन्त्र समाजको निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।