काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका सम्बन्धमा चर्चा सुरु हुन थालेको छ।
वर्तमान गर्भनर अधिकारीको कार्यकाल यही २४ गते सकिने भएकोले पनि अबको गर्भनर को बन्ला भन्ने चर्चा हुनु स्वभाविक हो ।
बैंक तथा वित्तीय संस्था, वित्तीय क्षेत्रका अन्य संस्थादेखि सेयर बजारसम्म अहिले नयाँ गभर्नर को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ ।
राष्ट्र बैंक ऐन २०५८ ले गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गर्ने व्यवस्था गरेको छ । सो समितिमा पूर्व गभर्नरमध्येबाट एकजना र आर्थिक एवं मौद्रिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट एक जनासहित तीन जनाको प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था छ । त्यसरी सिफारिस भएका नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।
अहिले राष्ट्र बैंकमा नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्र डेपुटी गभर्नर छन् । उनीहरुसँगै च्चस्तरीय आर्थिक सुधार आयोगका अध्यक्षसमेत रहेका पूर्वअर्थसचिव रामेश्वर खनाललाई गभर्नरको सम्भावित दाबेदारका रूपमा हेरिएको छ ।
यसगरी राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्ट र राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका अर्का कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई समेत हेरिएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ज्ञानेन्द्र ढुंगाना, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी लगायतको पनि नाम पनि जोडिएर चर्चा गर्न थालिएको छ ।