काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ ।
गत असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउन प्राधिकरणले म्याद दिएको थियो ।
उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको स्रोतले जनायो । एक उद्योगीले जनाए अनुसार घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक, कसमस सिमेन्टलगायतका उद्योगमा लाइन काटिएको छ ।
बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने बताएका थिए।र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले उद्योगीलाई चिढ्याउन नहुने धारणा राखेका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री खड्कालाई भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय नभएका कारण उनले लाइन काट्न शुरु गरेका हुन् ।
प्राधिकरणले यसअघि गत साउन ९ गते तीन महिनाभित्र बक्यौता तिर्न म्याद दिँदै लाइन जोडेको थियो । असार २४ गतेबाट लाइन काट्न सुरु गरेको प्राधिकरणले १६ दिनपछि विद्युत् नियमन आयोगको पत्रको आधारमा लाइन जोडेको थियो ।