खैरो थोप्ले रोग
रोगको जिवाणु वाइपोलारिस ओराइजा हो । यस रोगको लक्षणमा धानको पातमा तिलको दाना आकारका अण्डाकार खैरा थोप्लाहरु निस्कने हुन्छ । र यो थोप्लाको केन्द्र भाग खरानी रंगमा देखिन्छ ।
रोगको नियन्त्रण गर्दा खासगरी मलजलमा ध्यान दिनुपर्दछ । मलजल नपुगेको अबस्थामा यो रोग लाग्छ । तसर्थ उचित मात्रामा मलको ब्यवस्था गरौं । कहिले काही यो रोग विउबाट पनि सर्छ त्यसैले रोग नलागेको स्वस्थ बीउको प्रयोग गरौं ।
डाइथ्रेन एम ४५ लाई ३ ग्राम जति लिएर प्रतिकिलो बीउको दरले बीउको उपचार गरी व्याडमा राखौं । आवश्यक परेमा डाइथे्रेन एम ४५ नै ३ ग्राम प्रति लिटर पानीमा घोलेर छरौं ।
पाते डढुवा रोग
पाते डढुवा रोगको जीवाणु राइजोक्टोनीया सोलानी हो । यो रोगका लक्षणहरुमा पातको फेदमा खैरो खैरो अण्डाकार हरिया रंगका थोप्लाहरु देखिन्छन् । क्रमशः यी थोप्लाहरुको आकारमा वृद्धि हुँदै जान्छ र बेआकारका बन्न पुग्छ । धेरै फैलियो भने यी थोप्लाहरु पातमा समेत पुग्छन् र यसले गर्दा सबै पात डढ्छ । अनि बोट पनि डढेको देखिन्छ ।
यो पाते डढुवा रोगको नियन्त्रणको लागि नाइट्रोजन मल मात्र बढी प्रयोग गर्न हुँदैन् । फोस्फोरस र पोटास मल पनि प्रयोग गर्ने गर्नुपर्दछ । धान रोप्दा पातलो रोप्नु पर्दछ । बाक्लो गरेर रोप्नु हुँदैन् । यदि यो रोगको प्रकोप फैलियो भने हिनोसान १.५ मिलिलिटर वा भ्यालिडाइमाइसिन २ मिलिलिटर प्रति लिटर पानीमा घोलेर छर्कनुपर्दछ ।
पाते फेद कुहिने रोग
पाते फेद कुहिने रोग सारोक्लाडियम ओराइजा नामक जीवाणुबाट लाग्दछ ।
बोटको सबैभन्दा माथिल्लो पातको फेदमा लाम्चिलो र बेआकारका खैरो रंगका थोप्लाहर निस्कने,थोप्लाको बीचको भाग फुस्रो हुने जस्ता लक्षणहरु देखिएभने पाते फेद कुहिने रोग लागेको भन्ने बुझ्नुपर्दछ । यो रोग लागेको बोटको माथिल्लो पातको फेद पुरै ढाक्छ र बाला पनि राम्ररी निस्कन सक्दैन् ।
यो रोगको उपचार भनेको बाला निस्कने बेलामा हिनोसान ५० इ.सि.झोल १.५ मिलिलिटर वा डाइथेन एम ४५लाई ३ ग्राम प्रतिलिटर पानीमा घोलेर छर्नुपर्दछ ।
क्रमश:……………………………….