
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ को विभिन्न ठाउँमा पुगेर मत सर्वेक्षण गर्दा यो पटक कांग्रेसका उम्मेदवारलाई विगतको तुलनामा सहज हुने देखिन्छ ।काठमाडौ टोखा,सामाखुसी ग्वाल्को पाखा ठमेल क्षेत्रमा विगतमा रास्वपालाई मत दिएका अधिकांश मतदाताले यो पटक नेपाली काँग्रेसका उम्मेदवारलाई आफ्नो मत दिने बताए । यो पटक किन रास्वालाई मत नदिने त भन्ने प्रश्नमा अधिकांश मतदाताको एउटै मत छ । यो क्षेत्रमा पहिला जितेकाले जति गरे त्यो भन्दा अरु केही काम रास्वापाबाट जितेर गएका शिशिर खनालले गर्न नसकेको तर्क छ ।
सामाखुसीका एक मतदाताले नाम नबताउने शर्तमा भने-‘ हामीले विगतमा रवि लामिछानेको मुख हेरेर घण्टीलाई भोट दिएका थियौ । पुरानो दलसँग वाक्क पनि भएका थियौ । उम्मेदवार नचिने पनि भोट हालेका थियौ । यो पटक भने आफ्नो पुरानै दल काँग्रेसमा भोट दिने हो ।’
काठमाडौँ महानगरपालिका २६ वडाका मतदाता ५५ वर्षका धनकाजी भण्डारीले अघिल्लो पटक घण्टीलाई मत दिएका थिए । मतदान गरेर जिताए पछि रास्वापाका उम्मेदवार को हो आफूले एक पटक पनि देख्न पाइन, उनले भने, त्यस्तो कहिले नभेटिने नेतालाई पनि कसैले भोट दिन्छ । अब यो पटक मेरो मत बदलिन्छ । पहिलाका निर्वाचनमा काँग्रेसका नेतालाई भोट दिएको थिए । अब यो पटक सोच्दैछु ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जितेका शिशिर खनाल, नेपाली कांग्रेसका काठमाडौं सभापति कृष्ण सबुज बानियाँ, एमालेका अमन मास्के, नेपाली कम्युनिस्ट पार्टी (नकेपा) का हिमाल शर्मा लगायत २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । काठमाडौं–६ निर्वाचन क्षेत्रमा ६७ हजार ७५९ मतदाता छन्।
चुनावमा मतदाताको मन बुझ्न हामी आइतबार तारकेश्वर २ काभ्रेस्थली पुग्दा तीन जना पुरुष छहारीमा टहलिदै गफ गर्दै थिए । नमस्ते आराम हुनुहुन्छ । एक जनाले नमस्ते फर्काए । हामीले सोध्यौ- चुनाव पनि लाग्यो है ?
नेताहरु खाली भोट मात्रै माग्न मात्रै आउँछन् कि विकास निर्माणका काममा पनि सहयोग गर्छन् ?
हामीले कुरा सक्न नपाउँदै एक जनाले भने- ‘कहाँ बाबु पुरानोको विकल्प नयाँ हेरौ न त भनेर भोट दिएर पठाएकै हो । तर ति उम्मेदवार जिते पछि एक पटक पनि हाम्रो क्षेत्रमा फर्केर आएनन् । अब नो भोट ।’
हामी त भोट हाल्नै नजाने विचारमा पुगिसक्यौ । तर खै त्यो बेला सम्म के हुन्छ, एक अर्धबैशे पुरुषले जवाफ फर्काए ।
‘के हुनु नि, भोट माग्न आउँदा सबै गरिदिन्छु भन्छन्। तिमीहरूलाई सबै सुविधा दिन्छु भन्छन्। गएर कुर्सीमा बसेपछि यहाँको कुरा बिर्सिन्छन्,’ ६८ वर्षका एक बृद्ध बाले भने, ‘त्यही हो कुरा।’
मतदाता भेट्न र प्रश्न सोध्न हामी यो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाका १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ पुग्यौं ।
हामीले मतदातासँग कुरा गरेका ८० जना मध्ये ६० जनाले अघिल्लो चुनावमा रास्वपालाई मतदान गरेका थिए । ६० जना मध्ये ४५ जनाले यो पटक रास्वपालाई आफ्नो मत नदिने पुरानै दललाई दिने बताए । ४५ जना मध्ये ३० जनाले यो पटक काँग्रेसका युवा उम्मेदवार कृष्ण सबुज बानियाँलाई मत दिने भने ।
बाँकी १५ जनाले यो पटक एमालेका उम्मेदवारलाई भोट दिने बताए । ६० मध्ये बाँकी १० जनाले रास्वपालाई आफ्नो मत दिने बताए भने ५ जनाले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह चिममा मत दिने बताए । ८० मध्ये २० जनाले भने यो चुनावमा मिश्रित प्रतिक्रिया दिए । जसमध्ये ८ जनाले राप्रपामा मत दिने बताए । १२ जनाले भने चुनावसम्म पर्खनुपर्ने बताए । यि आधारमा हेर्दा काठमाडौँ ६ मा कांग्रेसका कृष्ण, रास्वपाका शिशिर र एमालेका अमन बीच टक्कर हुने देखिन्छ ।
यो पटक नेपाली काँग्रेस र एमालेले युवा उम्मेदवार उठाएकाले २०७९ मा शिशिरलाई दिएको भोट काँग्रेस र एमालेमा बाँडिने निश्चित छ । अधिकांश मतदाताले यो पटक युवा उम्मेदवारको विकल्प पाएकाले पुरानै ठाउँमा मत हाल्न तयार भएका छन् । सांसद जितेर गए पछि निर्वाचन क्षेत्रलाई बे वास्ता गरेको, विकासको काम गर्न नसकेको गुनासो मतदाताको छ । नेपाली काँग्रेसमा युवा नेता सभापति गगन थापा आएपछि मतदाताको मन काँग्रेस तिर बदलिएको देखिन्छ । हाम्रो विश्लेषणमा अघिल्लो पटक कांग्रेसलाई मत दिएका भन्दा एमालेलाई मत दिएका धेरै मतदाताले यसपालि शिशिरलाई मत दिनेछन् ।
जेनजी आन्दोलनमा आफ्नो जिम्मेवारी बहन नगरेकाले एमाले अध्यक्ष केपी ओलीसँग रिसाएका एमालेका अधिकांश मतदाता भेटिए । ति मतदाताले भने यो पटकको निर्वाचनमा एमालेलाई छाडेर रास्वपालाई मत दिने बताए । हामीले भेटेको त्यस्तो मतदाताको संख्या ४० जनाको संख्यामा छ । बरु हिजो कांग्रेसमा रहेर रास्वपालाई मतदान गरेका अधिकांश मतदाता आफ्नो पुरानै घर फर्किने बताए ।
किन त अहिले पुरानो घरमा फर्किने भन्ने प्रश्नको जवाफमा- एउटा मात्रै कारण कांग्रेस सभापति गगन कुमार थापाको आशा र भरोसा भएको बताउँछन् । अब कांग्रेस बन्छ भन्ने हामीलाई लाग्यो,मतदाता रामहरी श्रेष्ठले भने, अब भोट दिनुपर्छ भन्ने लागेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २८ मा बुझ्दा त्यस्तो मतदाता झण्डै १ सय जनाको हाराहारीमा मत बदल्ने पक्षमा देखिए ।
परम्परागत रूपमा एमालेलाई मत हालिरहेका कतिपय मतदाता प्रतिरक्षात्मक अवस्थामा देखिए । विगतमा उम्मेदवारबाट धोका पाएकाहरुलाई यो क्षेत्रमा एमाले मतदाताका लागि राहत बनेर आएका छन् उम्मेदवार अमन।
बागमती प्रदेश सरकारमा भौतिक योजना मन्त्री हुँदा उनले आफ्नो क्षेत्रमा धेरै काम गरेका छन् । धर्मस्थली, काभ्रेस्थली र जरंखुमा उनलाई भोट दिन्छु भन्ने धेरै भेटिए । यो क्षेत्रमा उनले बाटोका लागि बजेट ल्याएको, उनी पढे–लेखेको र भलादमी उम्मेदवार भएको भन्दै उनलाई मत दिन उत्साही मतदाता भेटिए । ४० जना भेटिएकामा २८ जनाले एमाले उम्मेदवार अमनलाई रोजे। भोट दिन्छु भने । विगतमा रास्वपालाई भोट दिएका २८ जना यो पटक अमन प्रति आकर्षित भएका छन् । १२ जनाले भने उज्यालो पार्टीलाई भोट दिने बताए ।
हामीले भेटेका धेरे मतदाताले कसलाई मत दिने भनेर निर्णय गरिसकेका छैनन् । यस्ता अनिर्णित मतदाताको संख्या झन्डै १५ प्रतिशत छ। निर्णय गर्न नसकेका बहुसंख्यक मतदाता यसअघि कांग्रेस र एमालेलाई भोट दिएकाहरू नै धेरै देखिन्छ ।







