काठमाडौ । । समाचार सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । आफुले विक्री गरेको दुधको रकम नपाउँदा आन्दोलन गर्नुपर्ने र आन्दोलन गर्दा पक्राउ गरिने खवर अत्यन्तै दुःखद छ ।
दुधको भुक्तानी रकम लिन आन्दोलन गरिरहेका किसानहरुलाई काठमाडौंको लैनचौरमा प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा केन्द्रिय दूध उत्पादन संघ लि.का पदाधिकारी पनि परेका छन् ।
ति पक्राउ गरिएका कृषकहरुलाई गौशालास्थित प्रहरी वृत्तमा लगिएको केन्द्रिय दुध उत्पादक संघ लि.का केन्द्रिय सदस्य एवं धुलिखेल नगरपालिका,वडा नं. ११ का वडा अध्यक्ष नारायण बडालले जानकारी दिए ।
संघको दुग्ध विकास संस्थान घेराउ कार्यक्रममा गएका करिव ५० जना किसानलाई प्रहरीले पक्राउ गरेको छ ।
स्मरणीय छ करिव ६ लाख किसानहरुले आफुले बेचेको दुधको रकम भुक्तानी नपाएको ६ महिनाभन्दा बढी भैसकेको छ । यसबापत किसानहरुले करिब ४ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी छ । यसको लागि पटक पटक आन्दोलन भएका छन् । सरकार र डेरी उद्योगीबिच वार्ता र सम्झौतापनि धेरै पटक भएको छ । तर सम्झौताको कार्यान्वयन नभएपछि किसानहरु आन्दोलित भएका हुन् । यसैबिच डिडिसीबाट समेत किसानले ७ महिनाको दुधको भुक्तानी लिन बाँकी रहेको छ ।