
समीक्षा
‘रे’ लघुकथासङ्ग्रहमा प्रयोगशीलता
सुधा शर्मा
सुमन सौरभ पृथक विषय र धाराका लघुकथा लेख्ने स्रष्टा हुन् । नेपाली साहित्यको उत्तरवर्तीे चरणमा देखापरेका सौरभको लघुकथायात्रा भने २०४७ मा मधुपर्क पत्रिकामा ‘नभएको भए पनि अभिलेख’ लघुकथा प्रकाशन भएसँगै भएको देखिन्छ । साढे तीनदशक लामो लघुकथा लेखनमा सक्रिय सौरभका पाँच थान कृति प्रकाशित भएको पाइन्छ । उनको आधुनिक लघुकथाहरू (२०५२) पहिलो लघुकथाकृति रहेको छ । लामो समयसम्म लघुकथाबाट हराएका उनी पैँसठ्ठी सालमा पराई विचार ( २०६५ ) दोस्रो लघुकथाकृतिका साथ देखापरेका छन् । यसको अतिरिक्त उनका लिङ्गी (२०३८), मृत्युसङ्ग्रह (२०७१), स्वप्निस्तान (२०७४) आदि लघुकथासङ्ग्रह प्रकाशन भएका छन् । उनको पछिल्लो एवम् छैठोँ लघुकथासङ्ग्रह रे (२०८२) नवीन विषय र प्रवृत्तिको साथ पाठकमाझ आएको छ ।
पेसाले प्राध्यापन भए पनि उनका लघुकथाकृतिमा विषयको गम्भीरता र विविधता, गहिरो दर्शन् र आफ्नोपनका कारण विशेष रहेका छन् । यस्तै विशेषता बोकेको कृति रेमा फरक विषय, फरक लघुकथा, फरक परिकल्पनाका साथ प्रस्तुत भएको छ । लघुकथाको विषयमा विविधतामात्र नभएर नयाँनयाँ शैली अनुशरण गरिएको छ । यहाँ जीवनकै दर्शन अभिव्यक्त भएका छन् । यस कृतिभित्रका लघुकथामा संविधानको पूर्ण र सही परिपालना नभएकोप्रति असन्तोषको र विद्रोहको भाव प्रकट भएको छन् । ईश्वरको मृत्युको घोषणा गरी पाश्चात्य विद्धान नित्सेका ईश्वरसम्बन्धी मान्यता ‘याचना’ लघुकथामा अभिवयक्त गरिएको छ । ईश्वरको मृत्यु हुनु नै ईश्वरको अस्तित्व स्वीकार गर्नु हो भन्ने दार्शनिक विचार यसमा उजागर गरिएको छ ।
“ईश्वर, नभए त मेरो दुःख कसैले सुन्दैन मलाई अरू कसैको भरोसा लाग्दैन ।’
‘…हिजो अरूले जन्माएको परमेश्वर आज म त्यो त के भयो ? अब म फेरी आफ्नो ईश्वर आफै जन्माउँछु ।” (पृ.९)
प्रस्तुत लघुकथाकृतिमा स्वास्थ्य, सामाजिक व्यवहार, दुःख, अर्ति उपदेश, भोकमरी, राजनैतिक विकृति र विसङ्गतिको चित्रण गरिएको छ । गरिबप्रति राज्य अनुदार र निकम्बमा बनेको विचार व्यक्त गरिएको छ । अरूलाई प्रश्न गर्न, अर्ती दिन सहज हुन्छ तर आफैलाई कठिन हुन्छ भन्ने अस्तित्ववादी चिन्तन प्रस्तुत गरिएको छ । तलको अंशले यस कुराको पुष्टि गरेको छ :
“अरूलाई सिकाउनु सिकाइसकेको मान्छे, आफू बाँचुन्जेल बाँचेको मान्छे । आफैँले बनाएको प्रश्नमा आफैँले उत्तर दिएर आफैँले जाँच्दा समेत उसलाई फेल हुन्छु कि भन्ने डर थियो ।” (पृ.१५)
प्रस्तुत लघुकथाकृतिमा तर्क र कुतर्कका कारण मस्तिष्कको मृत्यु हुन पुगेको, वर्तमान पुस्ताका गतिविधि, गरिबीको चित्र एवम् युवापुस्ता लागूऔषधमा फस्न पुगेको वर्तमान समयको यथार्थलाई देखाइएको छ । यसमा नारी अस्मिताको विषयलाई महाभारतबाट बिम्ब लिएर प्रस्तुत गरिएको छ । यो सङ्ग्रहका लघुकथामा सोझासाझा जनतालाई सपना देखाएर आफ्नो स्वार्थ पूर्ति गर्ने प्रवृतिप्रति व्यङ्ग्य प्रकट गरिएको छ । यहाँ वर्तमानका आमाको पीडा र मातृत्वको चित्रणको साथै प्राकृतिक विपत्ति, पीडा, आँसु, दर्द लिएर आउने कुरालाई उठान गरिएको छ । यसैगरी नेता र नेतृत्वप्रतिका दृष्टिकोण प्रस्तुत भएको छ ।
“यी, यो गाउँलाई माया नगर्नै गाउँ हो । यो सहर हो श्राप लागेको…यो सरकार बस्ने ठाउँ हो, कोहीसँग सरोकार नभएको किन राम्रो छैन् ? बोधो दिमागका दास— मान्छेहरू भएको देशमा मान्छेभन्दा नराम्रा नेता हुन्छन् । नेता नराम्रो भएका देशमा देशभन्दा देशको नक्सा राम्रो हुन्छ । मैले विरासतमा पाएको देशभन्दा मैले बनाएको देशको नक्सा मलाई त कति राम्रो लाग्यो लाग्यो कसैलाई नभन्नू, अब म बसाई सर्छु ल ?” (पृ.४२)
माथिको उद्धतांशमा नेतृत्व खराब भए देशको वास्तविक चित्र हराउने, असल नेतृत्व र मान्छेका कारण देशको विरासत कायम हुने कुरालाई उजागर गरिएको छ । यसमा असल नेतृत्वद्धारा देशको नक्सा परिवर्तन गर्न सकिन्छ भन्ने राष्ट्रप्रेमका भावनाको साथै परम्परागत मानसिकता बोकेको मान्छे र नेतृत्वप्रति व्यङ्ग्य प्रहार गरिएको छ ।
प्रस्तुत सङ्ग्रहमा लघुकथामा गरिबी, अन्याय, अत्याचार, शोषण, दमनको चित्रण, मानवीय मनोवृत्ति, इतिहासको स्मरण र मानवीय दुव्र्यवहारलाई देखाइएको छ । यसैगरी मुद्दामामिला सम्बन्धविच्छेदका साथै न्यायका पक्षमा आवाज उठाइएको छ । जातीय, आर्थिक, वर्गाीय, लैङ्गिक विभेदका साथै प्रशासन संयन्त्र, भ्रष्टाचारी प्रवृत्ति, कर्मचारीतन्त्रका बेथिति, विकृति, विसङ्गति, देखावटी मानसिकता षडयन्त्रलाई समेत यी लघुकथामाकृतिमा विषयवस्तु बनाइएको छ । त्यस्तै प्रेम, अनैतिक सम्बन्ध, धोका, सुन्दरता, जीवनका सम्झौता, हत्या, हिंसा, प्राकृतिक विपत्ति, ईश्वरप्रतिको दृष्टिकोण प्रस्तुत गरिएको यस सङ्ग्रहकाकथामा गुण्डागर्दी शैली, धर्मका नाममा हुने हिंसालाई समेत प्रस्तुत गरिएको छ ।
रे भित्रका कथामा विज्ञानको खोजी, पृथ्वीको उत्पत्ति सन्तानले अभिभावकप्रति बिर्सेका कर्तव्य र दायित्व, इमानदारीता र नैतिकताको अभाव र मानसिक समस्यालाई उठाइएको छ । बलत्कार जस्तो गम्भीर विषयलाई मजाक बनाइएकोप्रति यहाँ असन्तुष्टि व्यक्त गरिएको छ । निर्लज्ज पुलिस प्रशाासनको वास्तविकतालाई यी कथामा विषय बनाइएको छ । यस सङ्ग्रहभित्र शरीरको वस्तुकरण, नारी उत्पीडन, देहव्यापार, बेरोजगारी समस्या, पित्तृसत्ताको चित्रण, मानिसको खुट्टा तान्ने प्रवृत्तिलाई उजागर गरिएको छ । यसमा भोकमारी समस्या, जनतालाई सास्ती दिने प्रवृत्ति, प्रकाशकले लेखकलाई दिने हैरानी, अविश्वास, सम्पादकले बाँचुञ्जेल लेखकप्रति गर्ने व्यवहार र उपेक्षालाई देखाइएको छ । राजनैतिक चरित्र, मानवताहीन कार्य र सशस्त्र द्धन्द्धकालीन घटना र परिवेशलाई यी कथामा उतारिएको छ ।
रे लघुकथासङ्ग्रहमा उत्तरआधुनिक शैलीको प्रस्तुति रहेको छ । कथामा प्रयोगशिलता, विनिर्माण, विधाभञ्जन आदि नवीन ढाँचा र शैलीको प्रयोगले कथा बेजोड बनेका छन् । यसमा संवादात्मक एवम् नाटकीय शैलीको प्रयोग भएको छ । नवीन र पृथक विषय, गहिरो दर्शन, विषयगत विविधता, शैलीगत पृथकता, र अर्मूत शीर्षक, फरक परिकल्पना, स्वरूप र संरचनामा पृथकता कलात्मक भाषाका कारण प्रस्तुत लघुकथाकृति पाठकका लागि मननीय र रोचक बनेको छ ।


