
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मंसिरमा महाधिवेशन गर्ने भएको छ ।
कांग्रेस संस्थापनले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा इतर पक्षले छुट्टै महाधिवेशन गर्ने भएको हो । भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरेर असोज १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी संस्थापन पक्षले महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
उता, इतर पक्षले भने आगामी मंसिरमा गर्ने गरी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । सो समूहको केन्द्रीय महाधिवेशन तयारी समितिको दोस्रो बैठकले आगामी मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार सम्पन्न बैठकले वडादेखि केन्द्रसम्मको अधिवेशनको मिति तय गर्नुका साथै विभिन्न सांगठनिक निर्णयहरू गरेको हो ।
सार्वजनिक कार्यतालिकाअनुसार, असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन हुनेछ ।
महाधिवेशनलाई व्यवस्थित बनाउन समितिले भदौ १८ गतेभित्र केन्द्रीय निर्वाचन, क्रियाशील सदस्य छानबिन, विधान संशोधन र अनुशासन गरी चार विषयगत समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
यस्तै, भदौ २० गतेभित्र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पठाइ २५ गतेसम्ममा जिल्ला अधिवेशन तयारी समिति गठन गरिसक्ने इतर पक्षको योजना छ ।

