
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका परीक्षा तथा शैक्षिक गतिविधिबारे विश्वविद्यालयहरूलाई निर्देशन दिएका छन् ।
उनले प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको परिस्थितिका कारण भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् ।
भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूको लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत उनले निर्देशन दिएका छन् ।
मन्त्री पोखरेलले दिएका निर्देशन :
१. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने ।
२. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने ।
३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने ।
४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने ।
५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने ।
