
काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर पक्षको जारी राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नउभिने बताएका छन्।
‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा विल्कुलै छैन । जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ,’ कोइरालाले भने ।
काठमाडौँमा आयोजित इतर समूहको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले वर्तमान समय र जनचाहना अनुसार कांग्रेसलाई परिमार्जन गर्दै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
पार्टीभित्र देखिने आन्तरिक मतभेद र विवादलाई आपसी छलफल तथा संवादका माध्यमबाटै सल्टाउन सकिने उनको भनाइ थियो।
आगामी १५औं महाधिवेशनबारे बोल्दै उनले शेखर कोइरालासँग आफ्नो समन्वय रहेको बताए। सभापति पदका लागि शेखर अघि बढेको खण्डमा उनलाई पूर्ण समर्थन रहने संकेत समेत उनले गरे।

