
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश दुर्घटनाको जोखिममा परेको टिप्पणी गरेका छन् ।
शनिबार राप्रपा नवलपरासीले सुनवलमा आयोजना गरेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अनुभव नभएकालाई शासनको बागडोर सुम्पिँदा देश दुर्घटनाको जोखिममा परेको बताएका हुन् ।
सरकारले हरेक क्षेत्रमा आतंक र भ्रम सिर्जना गरेको पनि लिङ्देनले आरोप लगाए ।
उनले भने, ‘देश दुर्घटनाको जोखिममा परेकाले बचाउन र दललाई निषेधको राजनीति नगरी सहमतिको बाटोमा हिँड्न जरुरी छ ।’
‘सरकारले गरिब सुकुमवासीलाई त्रसित बनाउने काम गरेको छ । सरकारको आलोचना गर्नेलाई कृत्रिम मुद्दा चलाएको छ’, लिङ्देनले भने, ‘सरकारको भनाइ र गराइ फरक छ ।’
भूराजनीतिक हिसाबले त देश झन् तहस–नहस भएको उनले टिप्पणी गरे ।

