
काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटरसहितका सामग्री नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएको छ ।
प्रहरीले जनआस्था साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई साउन २७ गते पक्राउ गरेको थियो । उनको पक्राउपछि पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको भन्दै समाजले आपत्ति जनाएको छ ।
“साउन २८ गते बिहान पत्रकार श्रेष्ठ सम्पादक रहेको जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिनु निन्दनीय छ, दुराशययुक्त देखिन्छ, जुन प्रेस स्वतन्त्रता, मौलिक हक र नेपालको संविधानको उल्लंघन हो,” सभापति रेनुका पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
समाजले पत्रकार श्रेष्ठको शीघ्र रिहाइको पनि माग गरेको छ । “प्रेसबाट कुनै त्रुटि भए नियामक निकायहरू मार्फत निरूपणको विधि छँदाछँदै पत्रकारको गिरफ्तारी आपत्तिजनक छ,” विज्ञप्तिमा भनिएको छ, “पत्रकार श्रेष्ठको शीघ्र रिहाइ र प्रेस माथिको आक्रमण बन्द गर्न सरकारलाई आग्रह गर्दछ ।”

